अन्तर्राष्ट्रिय

मलेसियाले माग्यो चीनसँग आर्थिक सहयोग

बेइजिङ । मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदले आर्थिक समस्याबाट जुधिरहेको मलेसियालाई सहयोग गर्न चीनको उच्च नेतृत्वसँग आग्रह गरेका छन् । मलेसियाको पूर्व सरकारले सम्झौता गरेका कतिपय चिनीया सहयोगका ठूला परियोजनामा परिमार्जन गर्न पनि उनले अनुरोध गरे ।

चीनको औपचारिक भ्रमणमा रहेका ९३ वर्षीय प्रधानमन्त्री महाथिरले पूर्व प्रधानमन्त्री नजीब रजाकले चिनीया राज्य–प्रबद्र्धित परियोजना स्वीकृत गर्दा ठूलो आर्थिक हिनामिना गरेको र मलेसियाको आर्थिक परिस्थितिलाई दाउमा राखेको आरोप लगाउँदै आएका छन् ।

महाथिरको सरकारले चिनीया सहयोगमा सञ्चालित २२ अर्ब डलरभन्दा बढीका परियोजना निलम्बित गरेको छ जसमा एउटा प्रमुख रेलसेवाको निर्माण समेत रहेको छ । महाथिरले आफ्नो पाँच दिने चीन भ्रमणका क्रममा उनकै शब्दमा “अन्यायपूर्ण” सम्झौताहरुका विषयमा चीनसमक्ष औपचारिक कुरा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बेइजिङस्थित ग्रेटहल अफ द पिपुलमा चिनीया समकक्षी ली केक्वाङसँग आयोजित संयुक्त पत्रकार सम्मेलनमा महाथिरले विशेष कृषि उत्पादनहरु मलेसियाबाट खरिद गर्न चीनले सहमति जनाएकोमा धन्यवाद दिए । तर उनले विश्वकै दोस्रो ठूलो अर्थतन्त्र भएको मुलुक चीनबाट थप सहयोग हुने अपेक्षा व्यक्त गरे ।

“मेरो विश्वास छ चीनले हाम्रा समस्यामा सहानुभूतिपूर्वक विचार गर्नेछ र हाम्रो आन्तरिक वित्तीय समस्या सुल्झाउन हामीलाई मद्दत दिनेछ,” उनले भने ।

नौ वर्षीय शासनकालमा पूर्व प्रधानमन्त्री नजीबमाथि चीनसँग साँठगाँठ गरी ठूलो मात्रामा ऋण लिएको र त्यही ऋणको चेपुवामा पारेर मुलुकको अर्थतन्त्र बर्बाद पारेको आरोप लाग्ने गरेको छ ।

गत साता, महाथिरले चीनसँग विगत सरकारले गरेका सम्झौताहरु रद्द गर्ने वा परिमार्जन गर्ने बताएका थिए । उनले भने, “हाम्रो सर्वाधिक महत्वपूर्ण कुरा नै पैसा बचाउनु हो ।”

महाथिरले मलेसियाको राष्ट्रिय ऋण कटौती गर्न खोजिरहनु भएको छ, जुन २५० अर्ब डलर पुगिसकेको छ । चीनसँग जोडिएका ठूला परियोजनाका करार तोड्ने चेतावनीका बाबजूद महाथिरले आफ्नो चीन भ्रमणका क्रममा व्यावसायिक सम्बन्धलाई अझ सुदृढ गर्न प्रयास गरिरहेका छन् ।

उनले चीन भ्रमणका क्रममा विशाल ई–कमर्स कम्पनी अलीबाबाका संस्थापक ज्याक माँ सँग भेट गरेका छन् । उनी चिनीया सवारी साधन निर्माता कम्पनी गिली र मलेसियाली कार निर्माता प्रोटोनबीचको सहयोग सम्झौता कार्यक्रममा सहभागी भए । मलेसियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन नै हो, र मलेसियाको ठूलो जनसंख्या चिनीयामूलको छ ।

द्विपक्षीय सम्बन्ध विगतको सरकारसँग ज्यादै न्यानो थियो, र प्रमुख पूर्वाधार र निर्माण परियोजनामा चीनसँग हस्ताक्षर भएसँगै चिनीया लगानी पनि बढेको थियो । तर आलोचकहरुले यस्तो लगानीमा पारदर्शिता र शर्तहरुका बारेमा प्रस्ट नभएको बताउँदै आएका छन् जस्तै, ऋणको ब्याजदर । –एजेन्सी