लुम्बिनी

ओझेलमा चमेरे गुफा

दाङ । पर्यटकीय सम्भावना बोकेको चमेरे गुफा ओझेलमा परेको छ । तुलसीपुर उपमहानगरपालिका–४ मूलकोटस्थित चमेरे गुफा प्रचारप्रसारको अभावले ओझेलमा परेको हो । करीब दुई दशक अघि पत्ता लागेको उक्त प्राकृतिक गुफाको प्रचारप्रसार गर्न सके आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न सकिने देखिन्छ । गुफासम्म पुग्न भरपर्दो बाटोघाटो छैन । तुलसीपुर बजारदेखि १६ किलोमिटर उत्तरमा पर्ने सो गुफाको संरक्षण र विकास गर्न सके जिल्लाकै मुख्य पर्यटकीय गन्तव्य बन्ने स्थानीयवासी बताउँछन् ।

दैनिक ५० देखि ६० आन्तरिक पर्यटकले अवलोकन गर्ने गरेको चमेरे गुफा संरक्षण समितिका संयोजक भूपबहादुर पुनले बताए । गुफासम्म पुग्न जिल्ला समन्वय समिति, तुलसीपुर नगरपालिका, स्थानीय सामुदायिक वन र पर्यटन विकास कार्यालय भैरहवाको सहयोगमा सामान्य बाटो र अन्य केही संरचना निर्माण गरिएको छ ।

गुफाभित्र विभिन्न देवीदेवता, शेषनाग र बाघको स्वरुप देखिन्छ । गुफाको बाहिरी र भित्री भागमा उक्त स्वरुप देख्न सकिन्छ । गुफामा तीन तह छन् । प्रत्येक तहका भित्तामा विभिन्न स्वरुप देख्न पाइन्छ । चमेराको वासस्थान भएका कारण यसको नाम चमेरी गुफा रहन गएको स्थानीयवासी बताउँछन् । विसं २०५२ मा उक्त गुफा पत्ता लागेको हो । गुफासम्म सिँढी निर्माण थालिएको छ । तत्कालीन तुलसीपुर नगरपालिका र जिल्ला विकास समितिले बिजुलीको व्यवस्था गरेको समितिका संयोजक पुनले बताए ।

उनले भने, “गुफाको उत्खनन आवश्यक छ ।,” तुलसीपुरदेखि १२ किलोमिटरसम्म राप्ती राजमार्गको हर्नेटीसम्म पक्की सडक छ । हर्नेटीदेखि गुफासम्म चार किमी कच्ची सडक भएका कारण आवातजावतमा कठिनाइ हुने गरेको गुफा संरक्षण समितिका सल्लाहकार रवीन्द्रसिंह ठकुरी बताउँछन् ।