प्रदेश 1

आयुर्वेद उपचार पद्धति भरपर्दो

भद्रपुर । पछिल्लो समय बिरामीले आयुर्वेद उपचार पद्धतिलाई भरपर्दो उपचार सेवाका रुपमा लिन थालेका छन् । झापामा आयुर्वेद स्वास्थ्य संस्थामा उपचार गराउनेको सङ्ख्यामा वृद्धि हुँदै गएको छ । खासगरी नसर्ने रोगका बिरामी आयुर्वेद उपचार पद्धतिप्रति आकर्षित हुँदै गएका छन् । आव २०७४/७५ मा ४१ हजार ४५ बिरामीले आयुर्वेद स्वास्थ्य संस्थाबाट सेवा लिएका छन् । आव २०७३/७४ मा ३० हजार ४८२ जनाले मात्र सो सेवा लिएका थिए ।

जिल्लाका सात आयुर्वेद औषधालयले बिरामीलाई सेवा उपलब्ध गराउँदै आएको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा केनिन राईले बताए । गत आवदेखि पञ्चकर्म, क्षारसूत्र, फिजियोथेरापी, अक्युपञ्चर सेवा प्रदान गरिँदै आएको छ । उच्च रक्तचाप, मधुमेह, श्वासप्रश्वास, मुटुरोग, मिर्गौला रोगीलगायतले आयुर्वेद स्वास्थ्य संस्थामा उपचार गराउँदै आएका छन् ।