शिक्षा

शिक्षा राज्यको प्राथमिकतामा पर्नुपर्ने

पोखरा । शिक्षा क्षेत्रमा राज्यको कूल बजेटको २० प्रतिशत रकम विनियोजन हुनुपर्ने माग गरिए पनि नेपालमा १० प्रतिशत मात्र बजेट छुट्याइएकोमा वक्ताहरूले चिन्ता व्यक्त गरेका छन् ।
क्षेत्रीय शिक्षा निर्देशनालयद्वारा आज यहाँ आयोजित शैक्षिक सुधार, सुशासन, विकास र समसामयिक चासो विषयमा सञ्चार क्षेत्रसँगको सहकार्य सम्बन्धी अन्तक्र्रिया कार्यक्रमका वक्ताहरुले शिक्षा राज्यको प्राथमिकतामा हुनुपर्ने बताए ।
कार्यक्रममा क्षेत्रीय शिक्षा निर्देशक डा भोजराज शर्मा काफ्लेले प्रत्येक राजनीतिक दलले आफ्नो चुनावी घोषणापत्रमा २० प्रतिशत बजेट छुट्याउने उल्लेख भए पनि त्यो व्यवहारिक रुपमा कार्यान्वयनमा आउन सकेको छैन भने। सङ्घीय संरचनाअनुसार शैक्षिक क्षेत्र स्थानीय तहको मातहतमा लैजाने भनिए पनि त्यसको राम्रो व्यवस्थापन भइनसक्दा अझै पनि समस्या रहेको उनको भनाई छ ।
निर्देशनालयका उपनिर्देशक तिलक सिलवालले सङ्घीय संरचना अन्तर्गतको शैक्षिक व्यवस्थापन गर्न जिल्ला शिक्षा अधिकारी, वरिष्ठ प्रशिक्षक, राष्ट्रिय परीक्षा बोर्ड प्रमुखसँग अन्तक्र्रिया गरी आवश्यक सुझाव मन्त्रालयमा पेश गरिएको जानकारी दिए । उपनिर्देशक युवराज बगााले, गुरुप्रसाद पौडेललगायतले शिक्षा क्षेत्रमा कर्मचारी व्यवस्थापनमा संरचनागत र क्षेत्रीय शिक्षा निर्देशनालयको कार्यालय व्यवस्थापनमा असहजता, सबै जिल्लामा अभिलेख संस्थागत हुन नसक्नुजस्ता समस्या विषयमा आ–आफ्ना धारणा राखे ।