शिक्षा

प्रविधिमैत्री बन्दै दोगडाकेदारका विद्यालय

बैतडी । शैक्षिक गुणस्तरमा सुधार ल्याउन बैतडीको दोगडाकेदार गाउँपालिकाले पालिकाभित्रका विद्यालयलाई प्रविधिमैत्री बनाउन जोड दिएको छ । गाउँपालिकाभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा कम्प्युटर, ई–हाजिरी, ई–पुस्तकालय, प्रोजेक्टरको व्यवस्था, निःशुल्क वाइफाइ तथा इन्टरनेट जडान कार्यलाई निरन्तरता दिएको छ ।
गाउँपालिकाभित्रका १० माध्यमिक विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले उक्त कार्य गर्न लागिएको अध्यक्ष चक्र कार्कीले बताए। हालसम्म सनातन धर्म मावि श्रीकोट, भूमिराज मावि चडेपानी, न्वाली मावि दोली, श्रीकेदार मावि पिपलकोट गरी चार विद्यालयमा हाजिरी र इन्टरनेट जडान कार्य सम्पन्न भएको छ । अन्य ६ विद्यालयमा विद्युतीय हाजिरी र इन्टरनेट जडानलाई निरन्तरता दिने भएको छ ।
बाँकी विद्यालयमा विद्युत्लगायतको समस्या भएकाले जडान गर्न नसकिएको अध्यक्ष कार्कीले बताए । गाउँपालिकाले गतवर्ष नै आफ्नो निकायभित्रका सम्पूर्ण माध्यमिक विद्यालयमा इन्टरनेट र ई–हाजिरी जडान गर्ने कार्यक्रम थियो । इन्टरनेट जडान गर्न विद्यालयलाई ५० हजारदेखि एक लाख ५० हजारसम्म रकम विनियोजन गरेको दोगडाकेदार गाउँपालिकाको कार्यालयले जनाएको छ । विद्यालयमा विद्युतीय हाजिरीले शिक्षकको नियमितता बढेको, इन्टरनेट र प्रोजेक्टर जडान गरेपछि विद्यार्थीलाई पठनपाठन गर्न सजिलो भएको सनातन धर्म मावि खोचलेकका प्रधानाध्यापक बलदेव नाथले जानकारी दिए । इन्टरनेट जडानले एसइई लगायतका परीक्षाफल हेर्न सजिलो भएको छ । उनले भने,“प्रोजेक्टरको माध्यमबाट पढाइ गर्दा पठनपाठनमा सुधार हुँदै गएको छ”