शिक्षा

विद्यालयलाई तीन लाख सहयोग

म्याग्दी । बेनीनगरपालिका–१० पात्लेखेतको दीपक माविलाई एक परिवारले रु तीन लाखभन्दा सहयोग गरेको छ ।
पात्लेखेत घर भई हाल अमेरिकामा बसोबास गर्दै आएका मनप्रसाद शेरचनका परिवारले रु तीन लाख पाँच हजार सहयोग गरेका हुन् । यसअघि विभिन्न समयमा रु दुई लाख सहयोग गरी सक्नुभएको शेरचन परिवारबाट आइतबार थप रु एक लाख पाँच हजार आर्थिक सहयोग प्राप्त भएको विद्यालयका शिक्षक विष्णु ढुङ्गानाले जानकारी दिए।

मनप्रसाद, उनकी आमा सतलदेवी, श्रीमती सीता, छोरा सन्दीप शेरचन, बहिनी करुणादेवी गौचन र ज्वाइँ विष्णुप्रसाद गौचनले आइतबार थप सहयोग गरेका हुन् ।
नेपाल विद्युत् प्राधिकरणमा कार्यरत शेरचनका अर्का छोरा इञ्जिनीयर सन्दीप शेरचनले दुई थान डेक्सटप कम्प्युटर जडान गरे । सोही अवसरमा रु ३० हजार बराबरको शैक्षिक सामग्री वितरण गरिएको थियो । सहयोगदाता शेरचन परिवारलाई विद्यालयले आइतबार सम्मान गरेको छ ।

विद्यालयमा खेलमैदान निर्माण

यसैगरी म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलास्थित अमर माविमा खेलमैदान निर्माण भएको छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा अमर माविको परिसरमा स्थानीयवासीले पक्की खेलमैदान निर्माण गरेका हुन् । १३ मिटर चौडाइ र २३.५ मिटर चौडाइ भएको ढलानसहितको पक्की खेलमैदान निर्माण भएको प्रधानाध्यापक पृथबहादुर थापाले जानकारी दिए।

गाउँपालिकाको रु सात लाख ५९ हजार अनुदान र स्थानीयवासीको रु दुई लाख १३ हजार बराबरको श्रमदानमा खेलमैदान निर्माण भएको उपभोक्ता समितिले जनाएको छ ।