राजनीति

सरकारका विज्ञ मन्त्री आफैं भन्छन्, ‘प्रदेश सरकारको काम पटक्कै चित्तबुझ्दो छैन’

पर्सा । प्रदेश नं २ को भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा डिम्पल झाले प्रदेश सरकारको हालसम्मका काम कारवाही सन्तोषजनक नरहेको बताएका छन् । उनले आउने दिनमा बढी जनमुखी भई प्रदेश सरकारले कार्यसम्पादन गर्ने प्रष्ट पारे ।

राष्ट्रिय जनता पार्टी (राजपा) पर्साले आज वीरगञ्जमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा राज्यमन्त्री झाले मधेश आन्दोलनका शहीदलाई सम्मान र घाइतेको व्यस्थापनमा प्रदेश सरकार चुकेको टिप्पणी गर्दै आगामी दिनमा यसतर्फ पहल गरिनेछ भने ।

स्थानीय तहमा भएको अत्यधिक कर वृद्धिले सङ्घीयतालाई कमजोर बनाएको धारणा व्यक्त गर्दै उनले हाल देखिएको कर वृद्धिलाई नियन्त्रण गरी सङ्घीयतालाई बलियो र दीर्घजीवी बनाउनेतर्फ प्रदेश सरकार प्रयत्नशील रहेको जानकारी दिए । एक प्रश्नको जवाफमा राज्यमन्त्री झाले लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र दर्ता दुई/चार दिनभित्र हुने बताए ।

राजपा पर्साका उपाध्यक्ष डा अनुज यादवको अध्यक्षतामा सम्पन्न भएको भेटघाट कार्यक्रममा प्रदेश नं २ को प्रदेशसभा सदस्य डा अञ्जु यादव, राजपाका महासचिव शिवप्रसाद पटेल, राजेशमान सिंह, केन्द्रीय सदस्य निजामुदिन समानी, जिल्ला संयोजक प्रेमबाबु पटेललगायतको उपस्थिति रहेको थियो ।