प्रदेश 2

डोमलाई होटलको भाँडामा खान दिइँदैन

गौशाला । मनरासिस्वा नगरपालिकामा अझै पनि डोम समुदायलाई होटलको भाँडामा खान नदिने गरिएको पाइएको छ ।
उक्त नगरपालिका–१ मनरा बस्ने प्रगास डोमले आफूहरूलाई यहाँका कुनै पनि होटलमा बस्न र त्यहाँको भाँडाकुडामा खानेकुरा खान नदिएको बताउँछन् । चार पुस्तादेखि मनरासिस्वामा बस्दै आएका उनीहरूले होटलमा जाँदा त्यहाँका सञ्चालकले प्रवेश गर्न नदिने र होटलको थाल, कचौरा र गिलासमा खानेकुरा खान र पानीसमेत पिउन नदिने गरिएको अर्का पीडित सोगारथ डोमको भनाइ छ।होटलवालाले आफूहरूलाई बाहिरै उभ्याएर कागजमा खानेकुरा दिने गरेको र दिँदा पनि माथिबाट हातमा पर्ने गरी फालेर दिने गरेको उनी गुनासो गर्छन् ।

उक्त नगरपालिका–१स्थित जलेश्वर–सम्सी सडक खण्डको छेउमै वर्षौदेखि बस्दै आएका डोम समुदायलाई मनरा बजारमा अवस्थित करीब ५० होटलमध्ये कुनै पनि होटल सञ्चालकले सहजपूर्वक खानेकरा खान दिने गरेका छैनन् । सोही स्थान निवासी बिजुली डोमले पनि होटल सञ्चालक मात्रै नभई आम स्थानीय बासिन्दा आफूहरूबाट टाढा रहने र खानपिन गर्दा पनि टाढै रहने गरेको पीडा सुनाउँछन् । कानूनले छुवाछुतलाई अन्त गरिसक्दा पनि यस क्षेत्र बासिन्दालाई काननूनले कुनै असर नपारेको उनीहरूको गुनासो छ ।