गण्डकी प्रदेश

छ पत्रकार सम्मानित

पर्वत । पर्वतबाट सञ्चालित ‘अनलाइन पत्रिका सूचना केन्द्र डटकम’ले यहाँका छ जना पत्रकारलाई सम्मानित गरेको छ । पाँचौँ वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सूचना केन्द्र डटकमले शनिबार एक कार्यक्रमको आयोजना गरी छ जना पत्रकारलाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा नेपाल पत्रकार महासङ्घ पर्वतका पूर्वअध्यक्ष ओमप्रसाद घायल, पत्रकार सङ्घ पर्वतका निवर्तमान अध्यक्ष दुर्गाप्रसाद शर्मा, ठूलो पर्दा अनलाइन टिभीका सञ्चालक जीवन पराजुली रहेका छन् । उनीहरुलाई नगदसहित दोसल्ला ओढाएर सम्मान गरिएको छ ।

त्यस्तै पत्रकार महासङ्घ पर्वतका उपाध्यक्ष रञ्जना खत्री, रेडियो कुसुमका स्टेशन प्रमुख कृष्ण अखेली र पर्वत खबर साप्ताहिकका सम्पादक गणेश पौडेललाई पनि सम्मान गरिएको छ ।
कार्यक्रममा गायक शिव परियार, बद्री पङ्गेनी, सम्झना भण्डारी लगायतका कलाकारले साङ्गीतिक मनोरञ्जन प्रदान गरेका थिए ।

कार्यक्रममा सांसद पदम गिरीले सञ्चार जगत्ले समाजलाई सही दिशानिर्देश गरेको बताए । अहिले नयाँ मुलुकी संहिताका कारण पत्रकारमा देखिएको अन्योलको अन्त्यका लागि आफूले पहल गर्ने बताए ।

कार्यक्रममा सूचना केन्द्र डटकम अनलाइनका प्रबन्ध निर्देशक वैकुण्ठ गिरीले पत्रकारितामा लामो समयसम्म रहेर काम गरेका अग्रज र क्रियाशील पत्रकारलाई हौसला दिनका लागि वार्षिकोत्सवमा सम्मान गरेको बताए ।