साहित्य

नारायणहिटी नारायणस्थान सार्वजनिक

काठमाडौँ । नारायणहिटी नारायणस्थानको परिचयसम्बन्धी पुस्तक, वृत्तचित्र र वेभसाइड आज सार्वजनिक गरिएको छ । लेखक डा. शोभा ढुङ्गानको उक्त कृतिको संस्कृति विद् प्रा डा. जगमान गुरुङ र साहित्यकार श्यामदास वैष्णबले आज यहाँ आयोजित समारोहमा लोकार्पण गरे ।

उक्त पुस्तकमा नेपालमा वैष्णब धर्मको उत्पत्ति र विकास, नारायणस्थानको ऐतिहासिक मूल्यमान्यता र महत्व, मन्दिरको कला र वास्तुकला, नित्यपूजा, पर्व र जात्रा, नारायणहिटी धाराको ऐतिहासिकता लगायतको विषयवस्तु र तस्वीर समेटिएका छन् ।

भक्ति गर्नेलाई शक्ति

सो अवसरमा प्रा डा. गुरुङले आठौँ शताब्दीमा निर्माण गरिएको नारायणहिटीमा रहेका चार नारायण विश्वसम्पदा सूचीमा सूचीकृत अमूल्य निधि भएको बताए । उनले भने, “नारायणहिटी क्षेत्रका महालक्ष्मी, नारायणस्थान र अजिमको ठूलो धार्मिक महत्व छ । भगवान्को भक्ति गर्ने मान्छेलाई नै शक्ति प्राप्ति हुन्छ । विश्वमै नेपाल धार्मिक पर्यटकको प्रशस्तै सम्भावना बोकेको मुलुक हो ।”

डा विणा पौडेलले ‘नारायणहिटी नारायणस्थान’ नामक पुस्तकमा समेटिएको विषयवस्तु तथ्यपरक सामग्रीमा आधारित भएकाले पुस्ताबाट यो क्षेत्रको ऐतिहासिक महत्वसम्बन्धी प्राप्त जानकारी हासिल गर्न सहज हुने धारणा व्यक्त गरे ।

पूर्वशिक्षा सचिव शङ्करप्रसाद पाण्डेले रहनसहन, चाडपर्व, भाषा, प्रकृति, संस्कृति र साहित्य भनेको सम्पत्ति भएको हुँदा यसको माध्यमबाट मुलुकलाई समृद्धिमा लैजाने प्रशस्तै सम्भावना रहेको धारणा व्यक्त गरे । उनले भने, “प्रकृति र संस्कृति जोगाउनुपर्छ, यी हाम्रा गौरव हुन् ।”

पुस्तकका प्रकाशक प्रद्युम्न मिश्र, लेखक ढुङ्गाना र नारायण मन्दिरका पूर्वपूजारी हरिदास वैष्णबले परिचय नारायणहिटीको रहे पनि नारायण मन्दिरको दैनिक पूजाअर्चना पनि भक्तजनको सहयोग मागेर चलाउनुपर्ने अवस्था सिर्जना भएको धारणा व्यक्त गरे ।

उक्त नारायण स्थानमा भाद्र कृष्ण नवमीमा विशेष जात्रा लाग्दै आएको छ । उक्त मन्दिरको दर्शन र पूजाअर्चना गरेमा मनोकाङ्क्षा पूरा हुने तथा छालासम्बन्धी रोग हटेर जाने जनविश्वास रहेको भक्तजन बताउँछन् ।

नारायणस्थान अगाडि रहेको नारायणहिटी (ढुङ्गेधारा) को नामबाट नारायणहिटी दरबारकोसमेत नामाकरण गरिएको हो । प्रोल्लास सिन्धुलीयले सम्पादन गर्नुभएको ८० पृष्ठको उक्त पुस्तकका प्रकाशक पत्रकार प्रद्युम्न मिश्र छन्। पुस्तकको मूल्य रु ५० रहेको छ ।