कर्णाली प्रदेश

सदरमुकाममा पाँच स्थानमा पहिरो

दैलेख । गत वर्ष वर्षातसँग आएको पहिरोले दैलेखको नारायण नगरपालिका– ६ नजिक गणेशचोकमा बसोवास गर्दै आएका नमूना बस्तीका तीन जनाले अनाहकमै ज्यान गुमाए । भिरालो जमीनमा टहरा निर्माण गरेर बसेको नमूना बस्तीमा यो वर्षको वर्षातसँगै २५ घर जोखिममा रहेका छन् । लगातारको वर्षात्ले घरभन्दा माथिबाट पहिरो आएपछि बस्ती जोखिममा पर्न थालेको भन्दै समुदायका सबै चिन्तित भएको पव वादीले बताए।

अहिले सिन्की गाजलीको घर पहिरोले पुरिएको छ, अन्य २४ घरका वादी समुदाय घरभित्रको सामान आफन्तको सारेका छन् । विगत तीन वर्षदेखि हरेक वर्षात्मा पहिरोको जोखिममा पर्दै आएको समुदायको लागि दिगो व्यवस्थापन अझै हुनसकेको छैन् । जिल्ला प्रशासन, जिल्ला प्रहरी र नारायण नगरपालिकाले विभिन्न पहल थालेको भए पनि उचित स्थानको अभाव भएका कारण बस्ती अन्यत्र सार्न समस्या भएको नारायण नगरपालिका–१ का वडाध्यक्ष तीर्थनारायण श्रेष्ठले जानकारी दिए ।

वर्षात्मा दैलेख सदरमुकामको गणेशचोकमा रहेको अजित श्रेष्ठको घर भत्किएको छ, घरमा पसल गर्दै आएकी ममता श्रेष्ठको सामान स्थानीय बासिन्दाको पहलमा उद्धार गरिएको छ । पसलमा करीब रु १० लाख बराबरको क्षति भएको छ ।

नारायण नगरपालिका–ंं१ मा रहेको तारा थापाको घर पूरै भत्किएको छ । घरभित्रका सबै सामान पुरिएका छन् । घरमा कोही व्यक्ति नभएकाले सकुसल रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ । लगातारको वर्षात्सँगै दैलेखका विभिन्न स्थानमा पहिरो खसेपछि यातायातका साधन अवरुद्ध भएका छन् । कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खसेका कारण तीन दिनदेखि सडक अवरुद्ध भएको छ ।