प्रदेश 2

चुहावट नियन्त्रण गर्न स्थानीय तहको प्रतिबद्धता

लहान । सिरहामा अत्यधिकरुपमा भइरहेको विद्युत् चुहावट नियन्त्रणमा लागि नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गर्ने जिल्लाका स्थानीय तहका जनप्रतिनिधिले प्रतिबद्धता जनाएका छन् । प्राधिकरणको ३३ औँ वार्षिकोत्सवकको अवसरमा शुक्रबार लहानमा आयोजित अन्तक्र्रियामा सिरहाको विभिन्न स्थानीय तहका प्रमुखले जिल्लामा हुँदै आएको विद्युत् प्राधिकरणको एकल प्रयासबाट चुहावट नियन्त्रण सम्भव नभएकाले त्यसका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका हुन् ।

विद्युत् चुहावट जिल्लाकै मुख्य चुनौतीका रुपमा देखिएको भन्दै सिरहाको धनगढीमाई नगरपालिकाका प्रमुख हरिनारायण चौधरीले विद्युत् चुहावट नियन्त्रण र विद्युत् व्यवस्थापनमा सघाउन तयार रहेको बताए ।

नगरपालिकाका तर्फबाट के सहयोग गर्न सकिन्छ, त्यो ठोस योजना प्राधिकरणका तर्फबाट आओस्, उनले भने, “योजना आएपछि नगरपालिकाले सहयोग र सहकार्य गर्न तयार छ ।” जनतालाई मुस्कानसहितको सेवा दिन विद्युत् प्राधिकरणले डिजिटल मिटरलगायतका नयाँ प्रविधिलाई आत्मसात् गर्ने गरी व्यवस्थापनमा ध्यान केन्द्रित गर्नुपर्ने उनको कथन थियो ।

उत्तरी भेगभन्दा भारतीय सीमासँग जोडिएको दक्षिणी क्षेत्रमा व्यापक विद्युत् चुहावट भइरहेको भन्दै सिरहाको लक्ष्मीपुर पत्तारी गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहले विद्युत् चुहावट नियन्त्रणका लागि सबै प्रकारले आफूहरुसँग सहयोग गर्न तयार रहेको प्रतिबद्धता व्यक्त गरे । उनले पैसा बुझाएर पनि महिनौँसम्म विद्युत् मिटरका लागि सेवाग्राही कार्यालय धाउनुपर्ने समस्या अन्त्य गर्न सकिए चुहावट नियन्त्रण सहज हुने विश्वाससमेत व्यक्त गरे ।

सो अवसरमा सिरहाको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार मेहताले विद्युत् चुहावट नियन्त्रण सँगसँगै सहजरुपमा ग्राहकले महशुल बुझाउने वातावरण मिलाउन प्राधिकरण व्यवस्थापनलाई सुझाव दिए । “विद्युत् चुहावट अन्त्यका लागि हामी पनि प्रतिबद्ध छौँ”, उनले भने, “तर ग्राहकले समयमै विद्युत् मिटर र सहजरुपमा महशुल बुझाउने वातारण भएमा टाढाटाढाका ग्राहकलाई सहज र सुलभ हुन्थ्यो ।”

कार्यक्रममा प्रदेशसभा सदस्य लगनलाल चौधरीले मुलुक समृद्धिको आधार विद्युत् र ऊर्जा भए पनि यसमा चुहावट हुनु दुःखद् भएको भन्दै त्यसलाई नियन्त्रण गर्न ठोस योजना बनाउन सुझाव दिए । विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख विष्णुप्रसाद यादवले सिराहामा करीब ३५ प्रतिशत अझै विद्युत् चुहावट भइरहेको भन्दै सहयोग गर्न स्थानीय तहका प्रमुखसँग आग्रह गरे । सेवाग्राहीको सुविधालाई ध्यानमा राखेर महशुल बुझाउन अनलाइन सेवा सञ्चालनमा ल्याएको प्रमुख यादवले जानकारी दिए ।