सूचना प्रविधि

दुई पत्रकार पुरस्कृत

काठमाडौँ । विसं २०५१ भदौ १ गतेदेखि रेडियो नेपालबाट तामाङ भाषामा समाचार प्रसारण शुरु भएको सम्झनामा प्रसारण दिवस मनाइएको छ । सो अवसरमा प्रदेश नं ३ की उपसभामुख राधिका तामाङले देश सङ्घीय संरचनामा गएसँगै कर्मचारी प्रदेशमा जान नमान्ने, सिंहदरबारमै बस्ने मानसिकता नत्यागेकाले प्रदेश संरचना सफल बनाउन अप्ठ्यारो भएको बताए ।

नेपाल पत्रकार महासंघका सचिव रामप्रसाद दाहालले नयाँ देवानी र अपराध संहिताले पत्रकारिता जगतलाई संकुचित बनाउन खोजेकाले यस्ता प्रावधानलाई संशोधन गरिनुपर्ने बताए । आदिवासी जनजाति पत्रकार महासङ्घका अध्यक्ष दण्ड गुरुङ र सङ्घका अध्यक्ष विष्णु तामाङलगायतले प्रदेश संरचनामा मातृभाषामा काम गर्न चाहने सञ्चारकर्मीलाई प्रोत्साहित गर्नुपर्नेमा जोड दिए ।

सो अवसरमा नेपाल तामाङ पत्रकार सङ्घले बिबिसी नेपाली सेवा सोलुखुम्बुकी सुजाता तामाङ र ‘रेडियो मिर्मिरे’का पत्रकार विष्णु दोङ तामाङलाई पुरस्कृत गरेको छ । सम्मानित दुबै पत्रकारलाई रु पाँच÷पाँच हजारसहित प्रमाणपत्र वितरण गरियो ।