प्रदेश 2

अर्बुद रोगको उपचार शुरु

महोत्तरी । महोत्तरीको रामगोपालपुरमा विनयतारा फाउन्डेशनले अर्बुद रोगको उपचार गर्न थालेको छ । अमेरिकास्थित विनयतारा फाउण्डेशन, विनयतारा क्यान्सर ट्रष्ट नेपाल र रामगोपालपुर नगरपालिकाको सहकार्यमा ‘क्यान्सर स्क्रिनिङ’ सेवा शुरु गरेको अस्पतालले केही वर्षमै सुविधासम्पन्न अर्बुद रोग उपचार केन्द्र पनि निर्माण गर्ने लक्ष्य लिएको छ ।

पूर्वी नेपालमा अर्बुद रोगको उपचार नभएका कारण उक्त अस्पतालबाट सो सेवा शुरुवात गरिएको ट्रष्टका अध्यक्ष डा. राकेश साहले बताए। अब क्यान्सरपीडितलाई काठमाडौँ वा भरतपुर धाउनुपर्ने अवस्था अन्त्य हुने उल्लेख गर्दै उनले सामुदायिक अर्बुद अस्पतालको परिकल्पना गरेर सेवाको शुरुवात गरिएको हो भने ।
हाल भाडाको घरबाट ओपिडी सेवा थालिए पनि केही वर्षमै सुविधासम्पन्न अस्पताल बनाउने योजना अघि सारिएको र यसका लागि नगरपालिकाले ५२ रोपनी जग्गा उपलब्ध गराएको छ । भवन निर्माण र अर्बुद रोगको उपचारका लागि आवश्यक उपकरणको जिम्मा फाउन्डेशन र ट्रष्टले लिएका छन् ।
चार वर्षमा पूर्वाधार निर्माण र उपकरण राख्ने काम सम्पन्न गर्ने लक्ष्य लिइएको छ । त्यसअघि भने अर्बुदको ओपिडी सञ्चालनमा रहनेछ । फाउन्डेशनका अनुसार सेन्टरका लागि रु ७० करोडभन्दा बढी लाग्ने अनुमान छ ।