राजनीति

खेलकूद क्षेत्रको विकासको लागि स्थानीय तहदेखि नै राज्यले ध्यान दिनुपर्छः नेता पौडेल

तनहुँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीयस्तरबाट खेलकूद क्षेत्रको विकास गर्नुपर्ने बताएका छन् ।

जिल्लाको म्याग्दे गाउँपालिका वडा नं १ गुणादीस्थित फ्रेन्डसीप युवा क्लबले आजदेखि आयोजना गरेको ‘सेभेन ए साइड’ फुटबलको उद्घाटन गर्दै नेता पौडेलले मोफसलबाट खेलकूद क्षेत्रको विकास गर्नुपर्ने बताए ।

नेता पौडेलले भने,“ खेलकूद क्षेत्रको विकासको लागि स्थानीय तहदेखि नै राज्यले ध्यान दिनुपर्छ ।” दमौलीबाट मानुङकोटसम्मको मोटरमार्ग काँग्रेसको पालामा बनेको दावी गर्दै उनले अब छिट्टै कालोपत्रे हुनेमा विश्वस्त पारे ।

उक्त कार्यक्रममा पार्टीका केन्द्रीय नेता शङ्कर भण्डारी, धुव्र वाग्ले, गण्डकी प्रदेशकी सांसद सरिता गुरुङ, काँग्रेस सभापति वैकुण्ठ न्यौपानेलगायतका वक्ताले खेलकूद क्षेत्रको विकासको लागि गुणस्तर जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिएका थिए ।

उक्त प्रतियोगितामा खेलमा ३० टोलीले सहभागिता जनाएका छन् । फुटबल प्रतियोगितामा प्रथम हुने टोलीलाई रु ७५ हजार, पदक र प्रमाणपत्र तथा द्धितीया हुनेलाई रु ३५ हजार मेडल र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष दुर्गाबहादुर थापाले जानकारी दिए ।