खेलकुद

गोल्डेनपीक अन्तर विद्यालय बास्केटबल हुने

काठमाण्डौ । सातौं गोल्डेनपीक अन्तर बिद्यालय बास्केटबल प्रतियोगिता भाद्र ४ गते देखि सुरु हुने भएको छ । सरस्वती नगर स्थित आयोजक स्कुल गोल्डेनपीकमा भएको पत्रकार सम्मेलनमा प्याब्सनका उपत्यका प्रदेश अध्यक्ष थकिनकुमार गुरुङले विद्यार्थीहरुको मानसिक, शारीरिक तथा चौतर्फी विकासका लागि खेलकुद अपरिहार्य भएको बताए । प्रमुख अतिथिको रुपमा पत्रकार सम्मेलनमा उपस्थिति भएका गुरुङले नेपाली खेलकुदको बिकास र बिस्तारका लागि राज्यले बिद्यालय खेलकुदलाई प्राथमिकतामा राख्नु पर्ने सुझाब दिए ।

विद्यालयको प्राङ्गणमा भाद्र ४ देखि ९ गते सम्म संचालन हुन प्रतियोगिता सिनियर छात्र र जुनियर छात्र गरि दुई स्पर्धामा खेल संचालन हुने आयोजक गोल्डेनपीक स्कुलका प्रीन्सिपल छत्रमणि राईले जानकारी गराए । उनले भने हामीले प्रत्येक बर्ष गदै आएको प्रतियोगिता महा भुकम्पका कारण स्थगित भएकामा अहिले निरन्तर दिदै छौं । प्रीन्सिपल राईले भने– बिद्यालयलाई खेलकुदको मेरुदण्ड नबनाए सम्म खेलकुदको समग्र बिकास हुन सक्दैन् ।

प्रतियोगितामा जुनियर छात्रमा ४ फिट १० इन्च मुनी उचाई भएका खेलाडीले मात्र सहभागिता गराउन पाउने प्रतियोगिता संयोजक पुर्ण न्यौपानेले जानकारी गराए । लिगकम नकाउटका आधारमा संचालन हुने प्रतियोगितामा दुवै समूहका सहभागि १२ टिमलाई चार समूहमा बिभाजन गरिएको संयोजक न्यौपानेले जनाए ।

सिनियर छात्रको समूह एमा ग्रिनल्यान्ड, भ्याली पब्लिक र न्यु बुद्ध छन् । यसैगरी समूह बीमा न्यु समिट, सौर्य र काठमाडौं विद्या कुञ्ज, समूह सीमा आयोजक गोल्डेन पिक, बेबी लोन र टीआईए तथा समूह डीमा बिम्स, एपेक्स र ह्वाइट किड रहेका छन् ।

चार फिट १० इन्च उचाइका खेलाडी सहभागी हुने जुनियर छात्रको समूह एमा माउन्ट कैलाश, लाली गुराँस र एनईए, समूह बीमा भ्याली पब्लिक, गोल्डेन पिक र बीएनए, समूह सीमा एञ्जल हार्ट, ईबीए र हिमशिला तथा समूह डीमा ग्रिनल्यान्ड, सेब र ओडीसी रहेका छन् ।

प्रतियोगिताका खेलमा नेपाल बास्केटबल संघको प्राविधिक सहयोगमा संचालन हुने छ ।