आर्थिक

माछापुछ्रे बैंकका ब्रान्ड एम्ब्यासडरहरु सार्बजनिक

काठमाण्डौ । माछापुच्छ्रे बैंकले आज नियुक्त गरेका ब्रान्ड एम्ब्यासडरहरुलाई पत्रकार सम्मेलनकार्यक्रम आयोजना गरी सार्वजनिक गरेको छ । बैंकले खेलकुद क्षेत्रका उदीयमान नामहरु मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई बैंकको ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त गरेको छ । बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा मीरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीले क्रमशः आफ्नो यात्रा, कठिनाई एवं चुनौतीहरु, सफलताहरु, र भावी योजनाहरु बारे मन्तव्य ब्यक्त गरेका थिए ।

मिरा राई नेपाली म्याराथनको एक चर्चित नाम हो । विभिन्न अल्ट्रा म्याराथन खेलमा सहभागिता जनाइसकेको मिरा राईले देश र विदेशमा थुप्र्रै उपाधि जितेका छन् । मीरा राईले २०१५ मा फ्रान्समा सम्पन्न ८० किलोमिटर विश्व म्याराथनमा पहिलो स्थान हासिल गर्न सफल भएका थिए । विश्व अल्ट्रा म्याराथनमा आफुलाई स्थापित गर्दै आएको नेपाली धाविका मीरा राई नेसनल ज्योग्राफिकले २०१७ मा सार्वजनिक गरेको ‘एड्भेन्चर अफ द इयर‘को उपाधि समेत जित्न सफल भएका थिए ।

त्यसै गरी प्रतिमा शेर्पा नेपालको नम्बर १ महिला गल्फर हुन् । रोयल नेपाल गल्फ क्लबमा हुकिएका शेर्पाले १५ वर्षकै उमेर देखि खेलको प्रशिक्षण लिन थालेका थिए । सानो उमेरमै लगातार उपाधि जित्न सफल भएपछि उनको चर्चा स्वदेशी मात्र नभएर विदेशी मीडियामा पनि भएपछि उनले पूर्व विश्व नं. १ टाईगर उड्सलाई समेत भेट्ने अवसर प्राप्त गरेका थिए । उनको दुईमहिने अमेरिका भ्रमणका दौरान ईसपीएनले उनमाथि एक वृतचित्र समेत निर्माण गरेको थियो ।

आर्यन गिरी अर्का १३ वर्षीय उदीयमान टेनिस खेलाडी हुन् । ६ वर्षको कलिलै उमेरदेखि टेनिस शुरु गरेको गिरी बर्न सर्भाइभर हुन् । उनले नेपाल अन्डर १४ को नम्बर १ र एशिया अन्डर १४ मा नम्बर २९ स्थान बनाउन सफल खेलाडी हुन् । उनले आफ्नो मेहेनत र परिश्रमले एशियाकै नम्बर १ हुने लक्ष्य राखेका छन् ।

पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले मिरा राई, प्रतिमा शेर्पा र आर्यन गिरी जस्ता खेलाडीहरुलाई बैंकसँग आबद्ध गर्न पाउन गौरवको विषय रहेको बताए । बैंकका पूर्व अध्यक्ष तथा पुर्व सांसद डा. बीरेन्द्र प्रसाद महतोले समेत बैंकले नियुक्त गरेका ब्रान्ड एम्ब्यासडरहरुले बैंकलाई अझै उचाईमा पु¥याउने कुरामा आफु विश्वस्त रहेको बताए। बैंकका अध्यक्ष रोशन केसीले पनि आफ्नो मन्तव्यमा मीरा राई, प्रतिमा शेर्पा र आर्यन गिरीलाई माछापुच्छ्रे बैंकको सदस्यका रुपमा स्वागत गरे ।

बैंकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ८६ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत २५ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा ११३ स्थानबाट ग्राहकहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर ९९ वटा एटिएमहरु सञ्चालनमा रहेको छ ।