समाचार

नेपालमा युएनआरसिपिडीको एक दशक

काठमाडौँ । नेपालमा संयुक्त राष्ट्रसङ्घीय शान्ति तथा निःशस्त्रीकरण केन्द्रको एशिया–प्रशान्त क्षेत्रीय कार्यालय (युएनआरसिपिडी) स्थापना भएको दशौँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरमा राजधानीमा शान्ति र निःशस्त्रीकरणका विविध आयामबारे चर्चा परिचर्चा भयो ।

अन्तर्राष्ट्रिय युवा दिवसको समेत सन्दर्भ पारेर आयोजना गरिएको उक्त कार्यक्रममा परराष्ट्र, शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकूद मन्त्रालय, नेपालमा कार्यरत संयुक्त राष्ट्रसङ्घका विशिष्टीकृत निकायका पदाधिकारीले एशिया–प्रशान्त क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न केन्द्रले निर्वाह गरेको भूमिकाबारे जानकारी दिइएको थियो ।

मावि, उच्च मावि र विश्वविद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई भेला गरेर आयोजना गरिएको उक्त कार्यक्रममा ‘निःशस्त्रीकरणका लागि हाम्रो साझा भविष्यको संरक्षण’ मूल विषयवस्तुमा केन्द्रित रहेर प्रशिक्षण दिइएको थियो । निःशस्त्रीकरणलाई विद्यालयस्तरको पाठ्यक्रममा समावेश गरी राष्ट्रिय, क्षेत्रीय र अन्तर्राष्ट्रियस्तरमा सुरक्षित समाज स्थापनाका निम्ति सघाउन युवालाई केन्द्रित गरेर कार्यक्रम आयोजना गरिएको हो ।

केन्द्रले विगत छ वर्षदेखि पाठ्यक्रम विकास केन्द्र, शैक्षिक तथा मानव संसाधन विकास र संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) सँगको सहकार्यमा द्वन्द्व समाधानसम्बन्धी शैक्षिक सामग्री चार लाखभन्दा बढी विद्यार्थीमाझ पु¥याएको जनाएको छ ।

कार्यक्रममा दिइएको जानकारीअनुसार केन्द्रले शान्तिको संस्कृति प्रवद्र्धनमा युवायुवतीको सामथ्र्यको अधिकतम उपयोग गर्दै त्यसनिम्ति उनीहरुलाई चालकका रुपमा अघि बढाउनु र उनीहरुलाई नै केन्द्रमा राखेर शान्ति तथा निःशस्त्रीकरणका कार्यक्रम एशिया–प्रशान्त क्षेत्रका ४३ देशमा सञ्चालन गर्दै आएको छ ।

नेपालस्थित संयुक्त राष्ट्रसङ्घका निमित्त आवासीय प्रतिनिधि रिचर्ड हवर्ड र संयुक्त राष्ट्रसङ्घीय शान्ति तथा निःशस्त्रीकरण केन्द्रको एशिया–प्रशान्त क्षेत्रीय कार्यलयका उपनिर्देशक अलेक्सान्डर मिचिचले आमसंहारका रासायनिक र जैविक हतियार तथा परम्परागतसहित सबै किसिमका साना हातहतियाररहित समृद्ध एवं शान्त विश्व समुदाय निर्माण केन्द्रको मूल लक्ष्य भएको बताए।