राजनीति

पूर्बप्रधानमन्त्री बाजपेयीको निधनप्रति सभापति देउवा दुःखी

काठमाडौँ । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय जनता पार्टीका संस्थापक नेता एवं नेपालका अनन्य शुभचिन्तक भारतका पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको बिहीबार भएको निधनको खबरबाट आफू र आफ्नो पार्टी नेपाली काङ्ग्रेसलाई स्तब्ध बनाएको बताएका छन् ।

सभापति देउवाले बिहीबार एक शोक सन्देश जारी गरी स्वर्गीय बाजपेयी नेपाल र नेपाली जनताका एक परम मित्र र नेपालप्रति सधैँ शुभेच्छा राख्ने राजनेता थिए भन्दै सन्देशमा आधुनिक भारतको निर्माणमा विकासको नयाँ बाटो देखाउन स्वर्गीय बाजपेयीको ठूलो योगदान रहेको उल्लेख गरेका छन् । उनको निधनले दक्षिण एशियाकै लोकतन्त्रवादी व्यक्तित्व गुमेको अनुभव आफूलाई भएको सभापति देउवाले बताएका छन् ।

स्वर्गीय अटल बिहारी बाजपेयीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै उनको आत्माको चिरशान्तिको कामना पनि उनले गरेका छन् । साथै सभापति देउवाले शोकको यस घडीमा भारत सरकार, भारतीय जनता तथा स्वर्गीय बाजपेयीका समस्त परिवारजन र आफन्तजनप्रति गहिरो समवेदना व्यक्त गरेका छन्।