राजनीति

मुख्यमन्त्री रावतको ठोकुवाः यो संविधान लागू हुनै सक्दैन

वीरगञ्ज । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले नेपालको संविधान विश्वकै उत्कृष्ट संविधान हो भन्नेले अहिले सङ्घीयतालाई असफल पार्न खोजिरहेको आरोप लगाए ।

ब्रोडकास्टिङ एशोसिएशन अफ नेपाल (बान) द्वारा आज यहाँ आयोजित ‘सङ्घीयता कार्यान्वयनमा रेडियोको भूमिका’ विषयक अन्तक्र्रिया कार्यक्रममा उनले भने, “मुलुकको संविधानलाई कार्यान्वयन गर्ने निकाय राम्रो छैन भने त्यो संविधान प्रभावकारी रुपमा लागू हुन सक्दैन ।”

मुख्यमन्त्री राउतले विगतमा जुन समुदायले वर्तमान संविधानको विरोध गरी रहेका थिए आज त्यही समुदायले संविधान कार्यान्वयन नहोस् भन्ने खेल खेलिरहेको उल्लेख गर्दै यदि कार्यान्वयन गर्ने निकाय राम्रो छ भने संविधान कार्यान्वयन भएरै छाड्नेछ भने ।

“संविधान भनेको जीवन्त दस्तावेज हो, जसलाई निरन्तर सुधार गर्दै जाने हो,” उनले भने, “अहिले पनि संविधानलाई कसरी असफल बनाउने तत्वहरुले नै सङ्घीयता असफल भएको भन्ने गरेकोछ ।”

मुख्यमन्त्री राउतले लाखौ मानिसको आन्दोलनले ल्याएको सङ्घीयतालाई कसैले समाप्त पार्न नसकिने उल्लेख गर्दै प्रदेश सरकारले सञ्चार क्षेत्रको विकासका लागि मिडिया मैत्री कानून ल्याउन लागेको जानकारी दिए ।

भ्रष्टाचार नियन्त्रण गरी प्रदेशमा सुशासन कायम गर्न सरकारले सुशासनसम्बन्धी ऐन ल्याउन लागिएको बताउँदै उहाँले आफ्नो सरकारले प्रदेश प्रहरी ऐन ल्याएको जानकारी दिए ।

मुख्यमन्त्री राउतले जुन संविधानलाई टेकेर सङ्घीय सरकार निर्माण भएको हो, त्यही संविधानलाई टेकेर प्रदेश सरकार निर्माण भएकाले सङ्घीय सरकारले प्रदेश सरकारमाथि अङ्कुश लगाउनु संविधानको भावनाविपरीत हुने धारणा व्यक्त गरे ।

बान प्रदेश नं २ का संयोजक आरसी यादवको सभापतित्वमा भएको सो कार्यक्रममा बानका केन्द्रीय अध्यक्ष चन्द्र न्यौपाने, प्रदेशसभा सदस्य ओमप्रकाश शर्मा, वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी, नेपाल पत्रकार महासङ्घ प्रदेश २ का सभापति दीपेन्द्र चौहान र उपसभापति केसी लामिछाने तथा महासङ्घका जिल्ला अध्यक्ष श्याम बञ्जारालगायतले सङ्घीयता कार्यान्वयनमा सञ्चारकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

बानमा मुलुकभरीका २३० तथा प्रदेश नं २ का २४ वटा रेडियो स्टेशन आबद्ध छन् ।