राजनीति

पङ्गेनीको निधनले काँग्रेसलाई ठूलो क्षति : गोपालमान श्रेष्ठ

काठमाडौँ । नेपाली काँग्रेस स्याङ्जाका सभापति स्व कमल पङ्गेनीको सम्झना गरिएको छ ।

नेपाल विद्यार्थी संघ स्याङ्जा–काठमाडौँ सम्पर्क समितिले स्व पङ्गेनीको ११औँ पुण्य तिथिका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा काँग्रेस नेता गोपालमान श्रेष्ठले पङ्गेनीको निधनले काँग्रेसलाई ठूलो क्षति पुगेको बताए।

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेता श्रेष्ठले स्व पङ्गेनी नेपालको प्रजातान्त्रिक आन्दोलनको खम्बा भएको बताए । “कमलजी निकै मिलनसार र सहयोगी हुनुहुन्थ्यो उनको निधनले म स्तब्ध छु, आम काँग्रेस पार्टीलाई उहाँको अभाव सधैँ खड्किरहनेछ”, उनले भने ।

काँग्रेस नेता धनराज गुरुङले स्याङ्जाको पार्टीलाई एकताबद्ध बनाएर अगाडि लैजान स्व पङ्गेनीले ठूलो भूमिका खेलेको बताए । “पङ्गेनीले स्याङ्जा काँग्रेसलाई अगाडि लैजान बाँकी रहेका अधुरा काम पूरा गर्न सबै एकबद्ध हुनुपर्छ”, उनले भने।

सांसद मोहन पाण्डेले राजनीतिका असल सहयात्री गुमाउनुपरेको भन्दै उकोन अधुरा कामलाई पूरा गर्न सबै लाग्नुपर्नेमा जोड दिए । कार्यक्रममा काँग्रेस सिन्धुपाल्चोकका सभापति विकास लामा, महिला सङ्घ उपाध्यक्ष सरस्वती अर्याल, नेविसङ्घ अध्यक्ष नैनसिंह महर, महामन्त्री कुन्दनराज काफ्लेलगायतले पङ्गेनीको निधनले प्रजातन्त्रिक आन्दोलनको क्षति भएको बताए । पङ्गेनीको निधन साउन २० गते स्याङ्जामा हृदयघातका कारण भएको थियो ।