समाचार

सार्वजनिक सुरक्षासम्बन्धी विधेयक प्रस्तुत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक २०७५लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतले पारित गरेको छ ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले सोसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । मन्त्री थापाले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहितको सार्वजनिक सुरक्षा (तेस्रो संशोधन) विधेयक, २०७५ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गरेकामा सो पनि स्वीकृत भएको छ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियमहरु एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धिमाथि छलफल गरियोस् भनी प्रस्तुत गरेको प्रस्ताव पनि सर्वसम्मतिले स्वीकृत भएको छ । प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौ १ गते अपराह्न १ बजे बस्नेछ ।