कर्णाली प्रदेश

शव परीक्षणपछि मेहतालाई भारत लगिँदै

सुर्खेत । मनाङ एयरको हेलिकप्टरको पङ्खा लागेर हिल्सामा मृत्यु भएका भारतीय नागरिकलाई उनकै देशमा लगिने भएको छ । मुम्बईका ४२ वर्षीय नगेन्द्रकुमार कार्तिक मेहताको मङ्गलबार हिल्सामा हेलिकप्टरबाट ओर्लेर सेल्फी खिच्ने क्रममा पछाडिको पङ्खा लागेर मृत्यु भएको थियो । मेहताको शव मङ्गलबार नै हिल्साबाट सिमकोट पु¥याइएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले राससलाई बताए ।

सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले मृतकका परिवारबाट जाहेरी लिई बयान सकेर शव परीक्षण गर्न थालिएको बताए । शव परीक्षणपश्चात् आफन्तलाई बुझाई हेलिकोप्टरबाट काठमाडौँ हुँदै भारत लगिने तयारी गरिएको छ । सेल्फी खिच्ने क्रममा पङ्खा लागेर मेहताको टाउको क्षतविक्षेत भएको थियो । उनको परिवारसहित तीन जना आफन्त मुम्बईको एक्स्प्लोर कैलाश ट्रेक प्राइभेट लिमिटेडबाट एक हप्ताका लागि मानसरोवर दर्शन गर्न गएका थिए ।