प्रदेश 1

रु दुई लाखको अक्षयकोष स्थापना

पाँचथर । लामो समयसम्म पाँचथर बसेएका झापा निवासी नन्दीकेशर प्रसाईं (नरेश) ले विपन्न वर्गको सेवाको लागि आफ्नो स्व पत्नी मनु दुलाल (प्रसाईं) का नाममा अक्षयकोष स्थापना गरेका छन् ।

पाँचथर सदरमुकाम फिदिममा आज आयोजित एक कार्यक्रममा जनसेवा समाज पाँचथर मातहतमा सञ्चालन हुने गरी रु दुई लाख अक्षयकोष स्थापना गरेको समाजका अध्यक्ष राजेन्द्र अधिकारीले बताए ।

फिदिमको सिभिल बैंकमा स्थापना गरिएको अक्षयकोषको ब्याजबाट असहाय, विपन्न वर्गको सेवाको लागि अक्षयकोष स्थापना गरिएको प्रसाईंले बताए । यस्तै सोही कार्यक्रमका बीच आज पाँचथरको हिलिहाङ–७ बस्ने अनुपा राईलाई रु १५ हजार र विपन्न वर्गकी फिदिम नगरपालिका–१३ बस्ने दिब्या नेम्वाङलाई रु पाँच हजार सहयोग रकम प्रदान गरिएको थियो ।

जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विभिन्न राजनीतिक दल, सरकारी, गैरसरकारी सङ्घ संस्थाका प्र्रमुख तथा प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता रहेको थियो ।