गण्डकी प्रदेश

समुदायको लगानीमा प्रवेशद्वार निर्माण

बेनी । सप्तऋषिले तपस्या गरेको म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ मा अवस्थित ऋखारमा पूजापाठ र दर्शनका लागि आउने भक्तजनका लागि प्रवेशद्वार बनाइएको छ ।

वडा नं ८ दुवाडीमा ऋखार संरक्षण तथा सुधार समिति र देउराली आमा समूहको रु सात लाख नगद र जनश्रमदानमा प्रवेशद्वार बनाइएको हो । प्रवेशद्वार निर्माणमा पात्लेखर्क, घ्यासीखर्क, खरिबोट, चौरखानी, मङ्गलेखानीलगायतका क्षेत्रका स्थानीयले समेत नगद सहयोग गरेका थिए । धौलागिरि हिमालको फेदीमा रहेको धार्मिकस्थल ऋखार क्षेत्रमा भक्तजनलाई आकर्षित गर्न प्रवेशद्वार निर्माण गरिएको समितिका अध्यक्ष चित्र छन्त्यालले जानकारी दिए।

जिल्ला सदरमुकाम बेनीदेखि गलेश्वर, मौवाफाँट, दग्नाम, चिमखोला, घ्यासीखर्क, दुवाडी हुँदै तीन दिनको यात्रापछि ऋखारमा पुग्न सकिन्छ । धौलागिरि आधार शिविर नजिक पर्ने ऋखारमा जनैपूर्णिमाका दिन विशेष मेला लाग्छ ।