पर्यटन/संस्कृति

नागपोखरीको सरसफाइ

काठमाडौँ । यस वर्षको नागपञ्चमीको अवसर पारेर नक्सालस्थित नागपोखरीमा आज सरसफाइ गरिएको छ । काठमाडौँ महानगरपालिका–१ नक्सालमा बिहीबार हुने नागपञ्चमी तथा मेलाका लागि स्थानीयवासीले पोखरी तथा त्यसवरपर सफा गरी फोहर व्यवस्थापन गरेका हुन् । पोखरीको मध्यबिन्दु तथा केन्द्रमा नागसहितको ठूलो खम्बा गाडिएको छ । नागको प्रतिमा निर्माण गरिएको उक्त पोखरीको लम्बाइ १२५ र चौडाइ ६५ फीट रहेको छ ।

नागपञ्चमीका दिन यहाँ नागको विशेष पूजा गरिन्छ । पोखरीमा ध्वजापताकासहित भजनकीर्तन, डुङ्गासयर र विभिन्न पसल सञ्चालन गरिने नागपोखरी मेला व्यवस्थापन समितिका सदस्य रोशन श्रेष्ठले जानकारी दिए । विसं २०३३ मा जीर्णोद्धार गरिएको नागपोखरीको नक्साल युवा मण्डल र नक्साल संरक्षण गुठीले संरक्षण गर्दैआएको छ ।