राजनीति

सभापति अमात्यले पार्टी संगठन कब्जा गरि एकलौटी ढंगले पार्टी चलाउन खोजे: जितेन्द्र मलेकु

ललितपुर । ललितपुर कांग्रेसमा पार्टी कार्यालय जग्गा विवादको बिषय यतिबेला गुट-उपगुटको रुपमा चरम उत्कर्षमा पुगेको अवस्थामा महासमिति सदस्य जितेन्द्र मलेकुले सभापति अमात्य पार्टी कब्जा गर्ने मनसुवा राखी अरुको चरित्र हत्या गर्न लागिपरेको बताएका छन। मंगलबार केहि संचारकर्मीसँग कुरा गर्दै मलेकुले मदन अमात्य समूह १४ औ महाधिवेसन नजिकदै गरेको अवस्थामा पुनः जिल्ला सभापति बन्ने महत्वकान्क्षा राखी पार्टी भित्रको आन्तरिक विवाद बाहिर ल्याइ एकलौटी ढंगले पार्टी चलाई कब्जा गर्न खोजेको आरोप लगाए ।

सभापति मदनबहादुर अमात्यले जिल्लाकै पुराना नेता ओमकार श्रेष्ठविरुद्ध एक साता अघि ललितपुर–१४ नख्खीपोटमा रहेको कांग्रेसको पार्टी कार्यालय भवन जग्गा ओमकार श्रेष्ठ सभापति रहेका बेला आफ्नै नाममा पास गराएको भन्दै मुद्धा चलाएपछि यो विवाद सतहमा आएको हो । कित्ता नम्बर ६१२ को आठ आना जग्गा ०४७ साल चैत ११ गते धर्म र कृष्णले कांग्रेस पार्टीलाई दान दिएका थिए ।

संचारकर्मीसँग कुरा गर्दै मलेकुले भने, ुजग्गा फिर्ता गर्न नमानेको भन्दै पार्टी सभापति अदालत धाउनु भएको छ। सत्य त के हो भने ओमकार श्रेष्ठ मन्त्रि हुनुभएको समयमा सम्पत्ति विवरण बुझाउदा उक्त पार्टी कार्यालय भवनको जग्गा पार्टीको नै रहेको विवरण पेश गर्नुभएको सबैमा सर्वबिदितै रहँदा समेत किचलो निकालेर केहि हुल जम्मा पारि गुन्डागर्दीको शैलीमा प्रस्तुत हुनुले उहाँको नियत उदांगो भएको छ।ु

अन्य राजनीतिक दलसँग निर्वाचनमा पार्टीलाई हराउन मोटो रकम लिएको मदन अमात्यको आरोपलाई खण्डन गर्दै मलेकुले २०७० सालको निर्वाचनमा पार्टीलाई जिताउन आफुले महत्वपूर्ण भूमिका खेलेको र गत २०७४ सालको निर्वाचनमा समेत आफुले पार्टीलाई आर्थिक सहयोग गरेको सबै पार्टी कार्यकर्तालाई जानकारी भएको बताए । उनले भने, ‘अमात्यहरूको समूहले गत वर्ष सम्पन स्थानीय तह, प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई पराजित गर्न आफु लगायत महासमिति सदस्य ओमकार श्रेष्ठलाई आरोप लगाएका छन । यस्ता आरोप अमात्य समुहले पानी माथिको ओभानो हुनको लागि रचिएको प्रपन्च मात्रै हो ।’

पार्टी भवनको जग्गा ओमकारप्रसाद श्रेष्ठले पार्टीको नाममा दिन कुनै समस्या नभएको तर प्रक्रियागत रुपमा गर्दा ढिलो हुनसक्ने आन्तरिक बिषयलाई बाहिर ल्याउनु जरुरी नहुँदानहुँदै सभापति अमात्य मिडियाबाजीमा जानु आफैमा दुखद भएको मलेकुले बताए ।

जितेन्द्र मलेकुले जिल्लाका हजारभन्दा बढी सबै नेतालाई आमन्त्रण गर्दै आगामी शनिवार चियापान कार्यक्रम आयोजना गर्ने समेत बताए । पार्टीको आन्तरिक बिषयको जसरी गलत प्रचारवाजी गरि समस्त पार्टीप्रति आस्था राख्नेहरुमा भ्रम सिर्जना गरिएको छ त्यो भ्रमलाई हटाइ सत्यतथ्य जानकारी गराउन पार्टीका कर्यक्रताको भेला समेत गरिने उनले जानकारी दिए।

एक अनलाइन पत्रिकाले ‘दानवीरले दान गरेको जग्गा पचाउने योजना बनाउदै ओमकारु भन्ने शिर्षकमा छापिएको समाचारप्रति ध्यानकर्षण गर्दै मलेकुले आफ्नो चरित्र हत्या गर्न अमात्यलाई हराउन करोडौ रुपैया लिएको भन्दै आफूमाथि नै षडयन्त्र रचिएको र सत्यतथ्य नजानिकन एकतर्फी रुपमा समाचार सम्प्रेषण गरेको भनि पत्रकारले जो-कसैको मानहानी गर्न नहुनेमा समेत जोड दिए ।

पार्टी कार्यालय भवनको बारेमा साक्षी बसेको सवालमा उनले भने, ु मैले स्वयम् पार्टी कार्यालय भवन निर्माणको लागि काठ सहयोग गरेको छु। आज पार्टी कार्यालय भवन बेच्न ओमकार श्रेष्ठसँग मिलेर योजना बनायो भन्दै मेरो नैतिकता नै धरापमा पार्ने काम भैरहेको छ। उनले थपे, ‘तुजुकपूर्ण तवरले अरुलाई फसाएर एकलौटी ढंगले पार्टी कब्जा गर्न मदन अमात्य समुहले गरेको दुष्प्रयास ललितपुरका कांग्रेसीहरुको लागि मान्य हुने छैन।

गुट-उपगुट जुनसुकै पार्टीमा हुने भएतापनि पार्टीको पराजयलाई मुल्यांकन गरेर सुदृढीकारण गरि सबल बनाउन लाग्नुपर्नेमा आफु-आफु भिड्ने र भिडाउन खोज्नु पार्टी हित बिपरित भएको मलेकुले बताए। मलेकुले पार्टी भित्रको आन्तरिक विवाद सतहमा आएपनि छिट्टै समय हुने बिश्वाश व्यक्त गरे। यस्तो अवस्थामा पार्टी भित्रको आन्तरिक विवादलाई आधार बनाएर पार्टी संगठन कब्जा गर्न खोजे समानान्तर समिति बनाएर ललितपुरमा दुइओटा कांग्रेस बनाउने चेतावनी समेत दिए ।