प्रदेश 1

पोखरीका माछा मरे

भद्रपुर । पूर्वकै पशुपतिपनाथ मन्दिरको रुपमा परिचित अर्जुनधारा नगरपालिकाको अर्जुनधारा जलेश्वर धामको पोखरीका माछा मरेका छन् । जलेश्वर धाममा साउनको अन्तिम सोमबार आएका एक लाख बढी भक्तजनले चढाएको फूलपाती, दूधलगायतका सामग्रीको कारण माछा मरेको धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताए । पोखरीका एक हजार बढी माछामा आधा मरेको उनको भनाइ छ । मरेको माछा पोखरीबाट निकाल्ने काम भइरहेको छ ।

पोखरीमा नैनी, नदियारी, मागुर, रहुँलगायत विभिन्न प्रजातिका माछा रहेका छन् । भक्तजनले चढाएका सामग्री विषाक्त भई माछा मरेको हुनसक्ने अध्यक्ष गट्टानीको भनाइ छ । मरेको माछालाई खाल्डो खनेर पुरिने छ । पोखरी चार फिट गहिरो छ । महाभारतकालीन इतिहास बोकेको पोखरी अर्जुनले बाण हानी पानी निकालेर गाईलाई खुवाएको किंबदन्ती छ । सो पोखरीको बीचमा गाईलाई पानी खुवाइरहेको अर्जुनको मूर्ति छ ।