सुदूरपश्चिम

बाँध खुला, सतर्क रहन आग्रह

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको छ । सोमबारदेखि बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै परियोजनाले बाँध खुला गरिएको जानकारी पाइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताए । “परियोजनाका दुई वटा ढोका खोलेर २९४ क्युसेक पानी छाडिएको खबर छ”, उनले भने “एउटा ढोकाबाट १४२ क्युसेक र अर्को ढोकाबाट ५२ क्युसेक पानी छोडिएको जानकारीमा आएको छ ।”

यसअघि आइतबार नै भारतीय पक्षले आज बिहान ९ बजेसम्मका लागि बाँध खोलिने पूर्वजानकारी नेपाली प्रशासनलाई गराएको थियो । बाँधको पानी खोलिँदा महाकाली नदीको बहाव घटबढ भइरहेको बताइएको छ । दार्चुलाको दत्तुमा बिहान १० बजे मापन गरिएअनुसार महाकाली नदीको सतह ४.६ मिटर क्युसेक रहेकामा अपराह्न १ बज घटेर ३/६ मिटर क्युसेक पुगेको प्रजिअ आचार्यले बताए ।

बाँधको पानी खोलिँदा महाकाली नदीको तटीय क्षेत्रमा जोखिम बढ्ने भएकाले सतर्कता अपनाएर सुरक्षित स्थानमा बस्न दार्चुला जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकाली नदीमा बाढी आउने खतरा हुन्छ । दार्चुलाबाट बैतडी, डडेल्धुरा, कञ्चनपुर भएर भारततिर बग्ने महाकालीमा पानीको बहाव र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले आग्रह गरेका छन् ।

पछिल्लो समय भारतीय प्रशासनले बाँध खोल्ने समयबारे जानकारी गराउन थालेपछि पूर्वसतर्कता अपनाउन सजिलो भएको दार्चुलाका प्रहरी नायब उपरीक्षक नवराज अधिकारीले बताए । कूल २८० मेगावाट विद्युत् क्षमताको धौलीगङ्गाको बाँध यस वर्षमात्रै चारपटक खोलिएको छ । यसअघि धौलीगङ्गा जलविद्युत् परियोजनाको छिरकिल्लास्थित बाँधमा पानीको मात्रा अत्यधिक भएकाले साउन १२ गते पनि बाँधको ढोका खोलिएको थियो । विसं २०७० मा धौलीगङ्गाकै बाँधका कारण दार्चुला सरमुकाममा क्षति पु¥याउँदा अर्बौंको क्षति पुगेको थियो ।