गण्डकी प्रदेश

श्रमदानबाट घरघरमा खानेपानीको सुविधा

बेनी । म्याग्दीको मङ्गला गाउँपालिका–३ खानीगाउँकी आरतीकुमारी शेरचनले खानेपानी आयोजनाको झारा (श्रमदान) को लागि रु एक लाख खर्चिए । छोरा प्रवासमा रहेको र आफ्नो दम्पतीले श्रमदानको लागि काम गर्न नसक्ने भएकाले उनले दैनिक रु ५०० ज्याला दिने गरी मान्छे खटाएर श्रमदान गरे ।

खानेपानीको चरम अभाव रहेको खानीगाउँमा खानेपानी आयोजना निर्माण गर्ने भएपछि २०० दिनसम्म श्रमदान गर्ने गाउँ भेलाको निर्णयबमोजिम आफूहरुले श्रमदानको लागि उक्त रकम खर्चिएको शेरचनले बताए। “गाउँका हरेक घरबाट २०० दिन झारामा सहभागी भए, हाम्रो घरबाट काम गर्न सक्ने मान्छे नभएपछि ज्याला दिएर मान्छे खटाएर झारा ति¥याँै’’–उनले भने, “पहिले एक गाग्री पानी ल्याउन घण्टौँ समय खेर फाल्नुपथ्र्यो, अहिले घरघरमा खानेपानी धेरै सुविधा पुगेको छ ।’’

गाउँपालिकाअन्तर्गत सञ्चालित दोस्रो चरणको पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनामार्फत खानीगाउँमा सञ्चालन भएको बफुवाखोला खानेपानी तथा सरसफाइ आयोजनामा स्थानीयले छ महिना बढी समयसम्म रु १८ लाख ९४ हजार बराबरको श्रमदान गरेको उपभोक्ता समितिका अध्यक्ष टेकबहादुर छन्त्यालले जानकारी दिए ।

कूल रु ६७ लाख ६७ हजारको लागतमा निर्माण भएको यस आयोजनाबाट खानीगाउँका ५९ घरधुरी लाभान्वित भएका छन् । आयोजना निर्माणमा नेपाल सरकार र फिनल्याण्ड सरकारको रु २० लाख ९७ हजार ७८४ को दरले लगानी भएको छ भने गाउँपालिकाले रु छ लाख ७६ हजार ७०३ लगानी गरेको छ ।

“बफुवाखोलामा रहेको मुहानदेखि घरघरमो धारा विस्तार गर्दा करीब १४ किलोमिटर पाइपलाइन श्रमदानबाटै खनेका हौँ, त्यसको अलवा आयोजनाको पूर्वाधार निर्माणमा समेत स्थानीयवासीबाट सहयोग भएको छ” उपभोक्ता समितिका अध्यक्ष छन्त्यालले भने । गत वर्षको भदौदेखि निर्माण शुरु भएको यस आयोजनामा स्थानीयवासीले हिउँदको अधिकांश समय श्रमदान गरेरै बिताएका थिए ।

आयोजना निर्माण भएपछि अहिले १३ वटा मुख्य र सहायक ट्याङ्कीमार्फत घरघरमा खानेपानीको सुविधा पु¥याइएको छ । विगतमा खानेपानीको लागि कुवामा घण्टौँ समय लगाएर लाइन बस्नुपर्ने बाध्यता रहे पनि आयोजना निर्माण भएपछि घरघरमै सहजरुपमा खानेपानीको सुविधा उपभोग गर्न पाएको स्थानीयवासी मङ्गलबहादुर विश्वकर्माले बताए । खानेपानीको सहज सुविधा पुगेसँगै स्थानीयवासीले खानेपानीको जोहो गर्न लाग्ने समयलाई कृषि र उद्यमशीलतातर्फ लगाउन शुरु गरेका छन् ।

‘एक घर, एक धारा’ अवधारणाअनुसार सबै घरधुरीसहित स्थानीय मण्डली र दुर्गा आधारभूत विद्यालय तथा खानीगाउँ आमा समूह भवनमा एक/एक वटा सार्वजनिक धारा निर्माण गरिएको उपभोक्ता समितिका सचिव खरबहादुर पुनले जानकारी दिए । यो वर्ष बरङ्जाको दुर्दीमा समेत रु ७० लाखको लागतमा भित्रीवन खानेपानी तथा सरसफाइ आयोजना निर्माण भएको छ । बास परियोजनामार्फत रु ७० लाख तीन हजार ९९३ को लगानीमा निर्माण भएको आयोजनाबाट मंगला गाउँपालिका–४ दुर्दीका ६८ घरधुरी लाभान्वित भएका छन् ।

हरेक नागरिकमा शुद्ध खानेपानीको पहुँच पु¥याउन यस परियोजनाले मङ्गलामा चारवटा योजना सञ्चालन गरेकोमा दुई वटा योजनाको निर्माण कार्य सम्पन्न भएको छ । परियोजनाले मङ्गला गाउँपालिका–१ थाइबाङमा पञ्चासे ओखरबोट खानेपानी आयोजना र २ नम्बर वडा तल्लो डडुवामा चिसापानी धोबीखोला खानेपानी आयोजनाको निर्माण कार्यलाई समेत अघि बढाएको परियोजनाका जिल्ला सल्लाहकार थरेन्द्र पौडेलले जानकारी दिए ।