लुम्बिनी

उपमहानगरपालिकामै घर नक्शाको सेवा

बुटवल । तपाईं बुटवलमा घर बनाउँदै हुनुहुन्छ ? घर बनाउन नक्शा डिजाइनका लागि प्रविधिज्ञको खोजीमा हुनुहुन्छ ? अब यसका लागि कुनै झण्झट नउठाउनुस् । तपाईंलाई यसको सेवा बुटवल उपमहानगरपालिकाले आफैं प्रदान गर्ने भएको छ ।
बुटवल उपमहानगरपालिकाले नगरभित्र घर बनाउने नगरवासीलाई घर निर्माणका लागि चाहिने नक्शा न्यूनतम शुल्क लिएर आफैं बनाइदिने कार्यक्रम अघि सारेपछि नगरवासीलाई सुविधा पुग्ने भएको हो । अब नगरवासीलाई नक्शाको कामका लागि अनावश्यक रकम खर्चिनुपर्ने र भरपर्दो प्रविधिक खोज्नुपर्ने झण्झट हुने छैन ।
बुटवल उपमहानगरको आर्थिक वर्ष २०७५/७६ को नगर कार्यपालिकाले नगरभित्र निर्माण गरिने भुइँतलामा एक हजार वर्गफिट क्षेत्रफल ओगटेका घरका लागि तीन तलासम्मको नक्शा न्यूनतम शुल्क लिएर तोकेको प्रविधिज्ञले बनाइदिने निर्णय गरेको हो । यस किसिमको सेवा प्रदान गरेपछि तोकिएको मापदण्डअनुसार घर बन्ने आशा उपमहानगरपालिकाले राखेको छ । यस्तो कदमले नगरपालिकामा नक्शा स्वीकृति दिँदा कुनै समस्या नआउने बुटवल उपमहानगरपालिकाका योजना प्रमुख इन्जिनीयर सुमन श्रेष्ठ बताउँछन् ।
बुटवल उपमहानगरपालिकाले अगाडि सारेको यो कार्यक्रम मुताविक आजदेखि सेवा लिन चाहने नगरवासीका लागि सार्वजनिक आह्वान गरिएको छ । नगरपालिकाले नक्शा डिजाइन बापत भुइँ तलाका लागि रु ५ हजार र सो भन्दा माथि थप रु ३ हजार शुल्क तोकेको छ । नक्शा डिजाइनका लागि निजी प्रविधिज्ञले नगरपालिकाले तोकेको भन्दा तीन गुणा बढी शुल्क लिने गरेका छन् ।

उपमहानगरपालिकाले सार्वजनिक सूचनामार्फत नगरका जनतालाई सुविधा दिन एमआरटि परिधिभित्र रहेका घरको नक्शा डिजाइन गरी पेश गर्ने तथा घरको प्राविधिक निरीक्षणसम्मका सम्पूर्ण कामहरु उपमहानगरपालिका आफैंले गरिदिने गरी डेस्क सञ्चालन भएकाले सर्वसुलभ र गुणस्तरीय सेवा लिन इच्छुक नगरवासीलाई आह्वान गरेको छ ।

सेवाग्राहीले नक्शाको कामका लागि ब्यहोर्नु परेको झण्झट र अन्योलको अन्त्य गर्न यस खालको कार्यक्रम शुरु गरिएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मी बताउँछन् । उनले उपमहानगरपालिकाले अगाडि सारेको यो कार्यक्रमबाट जनताले घरको नक्शा डिजाइनका लागि सर्वसुलभ तथा गुणस्तरीय सेवा समयभित्रै पाउने दावी गरे । उपमहानगरपालिकाले प्राविधिक जनशक्ति करारमा राखेर सेवा प्रदान गर्ने भएकाले नगरवासीले घर नक्शा बनाउन ब्यहोर्नु परेको एकाधिकार तोडिने समेत नगर प्रवक्ता रेग्मी बताउँछन् ।
बुटवल उपमहानगरपालिकामा पछिल्लो समयमा घर निर्माणको काम निक्कै बढ्दो छ । नगरभित्र वार्षिक रुपमा झण्डै १ हजार ५०० भन्दा बढी घर निर्माण हुने गरेको तथ्याँक छ । उपमहानगरपालिकाले अगाडि सारेको यो योजनाले नगरभित्र घर निर्माण गर्ने अधिकांश नगरवासी लाभान्वित हुने उनी बताउँछन् ।

बुटवल उपमहानगरपालिकाको यस किसिमको कार्यक्रमले नगर क्षेत्रमा निर्माण हुने घरको गुणस्तरीयता मापनमा एकरुपता आउने र जनतालाई घर नक्शा निर्माणदेखि घर निर्माणसम्मको सम्पूर्ण प्रक्रिया नै सस्तो हुने योजनाविद् तथा प्रदेश ५ प्रादेशिक योजना आयोगका उपाध्यक्ष डा। प्रकाश कुमार श्रेष्ठ बताउँछन् । घर नक्शा निर्माणदेखि स्वीकृत गर्नेसम्मका प्रक्रियामा कार्यालयले समेत सेवाग्राहीको एउटै कामका लागि पटक पटक मूल्याँकन गर्नुपर्ने परिपाटीको अन्त्य हुने भएकाले यो कार्यक्रम प्रभावकारी हुने उनको विश्लेषण छ ।
नगरपालिकाले सार्वजनिक गरेको सूचना मुताविक सेवाग्राहीले घर नक्शा निर्माणका लागि जग्गाधनी पुर्जा, राजीनामा, चालु आर्थिक वर्षको सम्पत्ति कर तिरेको रसिद, नेपाली नागरिकताको प्रतिलिपी, नापी नक्शा, फाइल नक्शा, घर धनीको फोटो र चारकिल्ला विवरणलगायतका कागजात सहित आवेदन गर्नुपर्ने छ ।