समाचार

बजार, यातायात, उद्योग सञ्चालन

भक्तपुर । पक्राउमा परेका आफ्ना कार्यकताको निःशर्त रिहाइको माग गर्दै नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्प्युनिष्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको चौतर्फी अवज्ञा भएको छ । बन्दले दिक्क नागरिक र व्यवसायीले बन्दको अवज्ञा गरी व्यवसाय र यातायातका साधन निर्धक्क सञ्चालन गरेपछि भक्तपुरलगायत काठमाडौँ उपत्यकामा आज बन्दको प्रभाव परेको छैन । लोकन्थली र सूर्यविनायकमा बिहानै भेटिएको प्रेसर कुकर बम सुरक्षाकर्मीले निष्क्रिय पारेपछि बन्दको त्रासलाई मेट्दै दैनिक झैँ जनजीवन सामान्य रुपमा सञ्चालन भएको छ ।

भक्तपुरमा बिहानैदेखि निर्बाध रुपमा यातायात सञ्चालन भएको छ । अरनिको राजमार्ग खण्ड भएर गुड्ने काभ्रेपलाञ्चोकबाट आउने र काठमाडौँबाट जाने सार्वजनिक तथा निजी सवारी साधन निर्बाध रुपमा सञ्चालनमा आएको छ । त्यस्तै भक्तपुरबाट ग्रामीण मार्गमा सञ्चालन भएका बससमेत आज निर्बाध रुपमा सञ्चालनमा आएका छन् । जिल्लाका सबै बजार खुलेका छन् भने सहज रुपमा व्यापार सञ्चालन भइरहेको छ । त्यस्तै भक्तपुरका उद्योग कलकारखानासमेत निर्बाध रुपमा सञ्चालन भएका छन् ।
महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी प्रमुख हिमालयकुमार श्रेष्ठले जिल्लाको सुरक्षा व्यवस्था कडा पारिएको बताउँदै जिल्लामा निर्बाध रुपमा यातायातका साधन, बजार र उद्योग तथा कलकारखाना सञ्चालन भइरहेको जानकारी दिए । व्यापक रुपमा प्रहरी परिचालन गरिएको जानकारी दिँदै उनले कहीँकतै अवरोध सिर्जना गर्न खोजे कडा कारवाही गरिने चेतावनी दिए । भक्तपुरमा सरकारी विद्यालय र निजीतर्फ पनि इसानअन्तर्गतका भक्तपुर नगरपालिकाभित्रका विद्यालय पनि निर्बाध सञ्चालन भइरहेका छन् ।
यद्यपि प्याब्सन र एनप्याब्सनमा आबद्ध र निजी विद्यालयले भने बन्दकर्ताको साथ दिएका छन् । विद्यालयलाई शान्ति क्षेत्र बनाउनुपर्छ भनेर आवाज उठिरहेका बेलामा कुनै पनि बन्दले असर नगरी विद्यालय सञ्चालन हुनुपर्नेमा प्याब्सन र एनप्याब्सनअन्तर्गतका विद्यालय उपत्यकामा नै बन्द भएका छन् । बन्दकर्ताले बन्दको आह्वान गरेकै भरमा निजी विद्यालयले विद्यालय बन्द गरेर बन्दकर्ताको साथ दिइँरहदा लाखौँ विद्यार्थीले आज पढाइबाट वञ्चित हुनुपरेको छ । जोसुकैले बन्द एवं हडतालको आह्वान गर्दा पनि निजी विद्यालयले बन्दकर्ताको साथ दिने गरेको अभिभावकको गुनासो छ ।
निजी विद्यालय सञ्चालकले भने विद्यालयको गाडीमाथि आक्रमण हुनसक्ने र विद्यार्थीको ज्यान जोखिममा पर्ने भएकाले विद्यालय नै बन्द गरेको बताएका छन् ।