सुदूरपश्चिम

दुई दिनदेखि आवतजावत ठप्प हुँदा यात्रु अलपत्र

बैतडी । लगातारको वर्षापछि पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । बाटो अवरुद्ध भएपछि गोकुलेश्वर–दार्चुला सडक खण्डमा दुई दिनदेखि आवागमन बन्द भएको छ । मालिकार्जुन गाउँपालिका–३ तेर्छेलेकमा सडक माथिबाट पहिरो खसेको छ । बैतडीको पाटनबाट डोजर लगेर अहिले पहिरो पन्छाउने काम भइरहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक दीर्घ बोगटीले जानकारी दिए ।

“पहिरो लगातार खसिरहेको छ,” उनले भने, “पहिरो पन्छाउन दार्चुलाबाट अर्को डोजर मगाएका छौँ ।” राजमार्ग अवरुद्ध भएपछि छोटो तथा लामो दूरीका सवारी साधन सञ्चालन हुन सकेका छैनन् । दार्चुलाबाट काठमाडौँ, महेन्द्रनगर, धनगढी, डडेल्धुरा, बैतडी तथा काठमाडौँ, महेन्द्रनगर, धनगढी, बैतडीबाट दार्चुलाका लागि छुटेका सवारी साधन दुई दिनदेखि बीच बाटोमै रोकिएका छन् । यात्रु अलपत्र परेका छन् ।