समाचार

मेलम्चीको पानीको पाइपलाईनमा चार ठाउँमा चुहावट

काठमाडौँ । बहुप्रतीक्षित मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको थोक प्रणालीको ११ किमी दूरी परीक्षण गर्दा चार ठाउँमा चुहावट भएको छ । सुन्दरीजलमा निर्माण भएको अत्याधुनिक प्रशोधन केन्द्रमा वाग्मती नदीको पानी हाली परीक्षण शुरु गरिएको हो । सुन्दरीजलबाट चाबहिल गोपीकृष्णसम्मको थोक वितरण प्रणालीमा पानी हाली परीक्षण गर्दा चार स्थानमा चुहावट पाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ ।

वर्षात्मा नदीमा पानीको सतह बढेकाले परीक्षण शुरु गरिएको हो । गोकर्ण, चुच्चेपाटी, चावहिल र गोपीकृष्ण हल अघि चुहावट पाइएको निर्देशनालयका प्रवक्ता दिवाकर ढकालले राससलाई जानकारी दिनुभयो । सडक खनेर चारै स्थानका चुहावट टालिएको छ । पाइपबाट पानी चुहिँदा सडक जलमग्न बनेको थियो । पानी चुहावट हुँदा यातायात सञ्चालनमा समेत असर पर्ने गरेको छ ।

थोक वितरण प्रणालीको ६८ किमीमै पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । सम्पन्न भएको स्थानमा पानी परीक्षण गरिनेछ । वाग्मतीमा पानी बढी हुन्जेलसम्म परीक्षण गरिसक्ने निर्देशनालयको लक्ष्य छ । वाग्मतीको पानी घट्ने समयसम्म परीक्षण नसकिए मेलम्चीको पानी हालेर जाँच गर्ने योजना छ । असोजसम्ममा मेलम्चीको पानी सुन्दरीजलमा खसाल्ने सरकारको लक्ष्य छ ।

पानी वितरण गर्न पहिलो चरणमा टेण्डर गरिएको ६७० किमीको वितरण सञ्जालमध्ये ६५० किमीमा पाइप बिच्छ्याउने काम सम्पन्न भएको छ । २० किमीको काम भदौमै सम्पन्न गरिने जनाइएको छ । पछि टेण्डर गरिएको स्वयम्भु, बालाजु क्षेत्रको २३७ किमीमा पनि वितरण सञ्जाल निर्माण शुरु भएको छ । चालू आर्थिक वर्षको अन्त्यसम्म यो क्षेत्रमा पनि सञ्जाल बनाई सकिनेछ ।