पर्यटन/संस्कृति

देशभरका शिवालयमा भक्तजनको ओइरो

काठमाडौँ । सौरमासअनुसार साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । बिहान तीन बजेदेखि नै पशुपतिका चारै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । मूल मन्दिर प्रवेशका लागि पिङ्गलास्थान, जयवागेश्वरी, मित्रपार्क र उमाकुण्डबाट भक्तजनको लाम लागेको कोषका सदस्य–सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए ।

बिहानैदेखिको वर्षाले भक्तजनलाई लाममा अप्ठ्यारो परेको थियो । लाम लागेका भक्तजनले आधा घण्टाभित्र पूजा एवम् दर्शन गरेर फर्कने गरी व्यवस्था मिलाइएको थियो । दिउँसो साढे एक बजेसम्म करिब पाँच लाख भक्तजनले पशुपतिनाथ मन्दिरमा दर्शन गरेको उनले बताए ।

सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने बोल बम यात्रीको पनि बिहानैदेखि भीड लागेको छ । ॐ बोल बम काँवरिया सङ्घले आज संस्थागत रुपमा सुन्दरीजल–पशुपति काँवर यात्रा गरेको हो । हजारौँ भक्तजनले सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा अर्पण गरेका छन् । अहिले पनि पशुपतिनाथ मन्दिरमा जल चढाउने, पूजा गर्ने र दर्शन गर्ने भक्तजनको भीड लागेको छ ।

रातो, हरियो र पहेँलो वस्त्र लगाएका भक्तजनले पशुपतिनाथ परिसर ढाकेको छ । विशेषगरी महिला रातो र हरियो वस्त्रमा सजिएका देखिन्छन् । पुरुष भक्तजन र बोल बम यात्री भने पहेँलो कपडा लगाएर लाममा बसेका छन् । पशुपति जाने दर्शनार्थीका लागि कोषले पिङ्गलास्थानबाट दक्षिणढोका अघिसम्मको सडक भत्काएका कारण आवतजावतमा समस्या भोग्नुपरेको गुनासो गरेका छन् ।

कालोपत्र भएको सडकमा ढुङ्गा बिच्छ्याउन भत्काइएको कोषले जनाएको छ । मूल सडक भत्काउँदा मोटरसाइकल पैदलमार्गबाट हिँड्छन् । मोटरसाइकल पैदलमार्गबाट चलाउँदा त्यहाँ बिच्छ्याइएको ढंङ्गा भाँचिएका छन् । यसका कारण मन्दिर जान अप्ठ्यारो भएको धादिङ धार्केबाट आउनुभएकी भक्त रमिला अधिकारीले दुखेसो पोखे ।

चार सोमबार परेको सौरमासअनुसार साउनका सोमबार आजदेखि सकिए पनि चन्द्रमासअनुसार भदौ ४ गते पनि सोमबार परेको छ । चन्द्रमासअनुसार अर्को सोमबार पनि पशुपतिनाथ मन्दिरमा भक्तजनको लर्को लाग्नेछ ।

पशुपतिसँगै देशभरका शिवालयमा पनि भक्तजनको भीड लागेको छ । उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, आशापुरेश्वरलगायत महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम छ । साउने सोमबार व्रत बसी महादेवको पूजा आरधना गरी गाईको दूध, जल चढाएमा मनकामना पूरा हुने धार्मिक विश्वास छ ।

सुखमय दाम्पत्य जीवन बितोस् भन्ने कामनाले व्रत गरेका महिला, पुरुषले आजै गोदान, पूर्णपात्र गरी साउने सोमबार व्रतको समापन गर्छन् । साउने सोमबारको व्रत बस्ने भक्तजनले सौरमासअनुसारको अन्तिम सोमबार पारेर व्रत उद्यापन गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिए ।

नागेश्वरमा भीड

काठमाडौँ महानगरपालिका वडा नं. ३२ स्थित नागेश्वर महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ । नागका ईश्वरको मन्दिर भनी विश्वास गरिने नागेश्वरमा साउने सोमबार पारी पूजाआजा एवम् दर्शन गरेमा कालसर्प योगबाट शान्ति, जीवनमा आइपर्ने झन्झट, बाधा, व्यवधान, मुद्दा मामिलाबाट मुक्ति पाइने विश्वास रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रकाशजंग रायमाझीले बताए ।