पु.समाचार

मुलुकभरको मौसममा अझैँ केही दिन हुदैँछ यस्तो डरलाग्दो गडबडी !

काठमाडौँ । अहिले मुलुकभर सरदर मनसुनी वर्षा भएको छ । मनसुन चार महिनाको अवधिमा देशभर सरदर करिब १५ सय मिलिमिटर वर्षा हुने गर्दछ । मौसम पूर्वानुमान महाशाखाको आँकडाअनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढी (हालै भक्तपुरमा) १२५ मिलिमिटर वर्षा भएको छ । यो वर्ष मनसुन सक्रीय भएको लामो अवधिसम्म पनि प्रभावकारी वर्षा नभए पनि साउन १५ देखि वर्षा राम्ररी भइरहेको छ ।

मनसुन अवधिमा असार १५ देखि साउन १५ सम्म सबैभन्दा बढी वर्षा हुने गर्दछ । सामान्यतः नेपालमा जेठको अन्तिम सातादेखि मनसुन शुरु भई असोजको पहिलो सातासम्मको अवधि हुन्छ । अहिलेसम्म मध्य र पश्चिममा वर्षा राम्रै भइरहे पनि पूर्वी भेगमा तुलनात्मक रुपमा वर्षा हुन सकेको छैन । दुई दिनदेखि ती क्षेत्रमा पनि वर्षा राम्रो भइरहेकोले यो वर्ष पनि सरदर वर्षाको अनुमान गरिएको मौसमविद् वरुण पौडेलले बताए ।

“मनसुन चार महिना अवधिको विवरण भदौमा मात्रै आउँछ, अहिलेसम्मको वर्षाको अवस्थालाई हेर्दा सरदर वर्षा हो । धेरै स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको छ, दुई दिनदेखि पूर्वमा पनि मनसुन पूर्ण सक्रिय भएकाले यो वर्ष पनि सरदर वर्षा हुने देखिन्छ,”–उनले भने ।

मौसमविद् पौडेलका अनुसार अघिल्लो वर्ष करिव १५० मिलिमिटर वर्षा भएको थियो । विगतको आँकडा हेर्दा सन् १९९३ जुलाई महिनामा मकवानपुरको टिस्टुङ पालुङमा २४ घण्टा अवधिमा ५४० मिलिमिटर वर्षा भएको थियो । जुन अहिलेसम्मकै अतिभारी वर्षा हो ।

जेठ १५ देखि असोज १५ गतेसम्म बङ्गालको खाडी हुँदै नेपाल प्रवेश गर्ने जलवाष्पयुक्त हावा नै मनसुन हो । नेपालको पूर्वी भेग हुँदै प्रवेश गर्ने चार महिना ९१०५० दिन अवधिमा चल्ने उक्त हावाले अधिक वर्षा गराउँछ । जलवाष्पयुक्त हावाले नै मनसुन अवधिभर वर्षात् गराउने मौसमविद्को भनाइ छ । नेपालमा वर्षभरि मनसुनका कारण ८० प्रतिशत र पूर्वमनसुन र पश्चिमी वायुको प्रभावले २० प्रतिशत वर्षा हुने गरेको छ ।

जल तथा मौसम विज्ञान विभागले जनाएअनुसार साधारणतया जेठ १५ देखि असोज १५ गतेको चार महिनासम्मको समयलाई दक्षिण एशियाली मनसुनको अवधि भनिन्छ । उक्त समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत वर्षा हुन्छ । गत वर्षको मनसुनी वर्षा करीब ७६ प्रतिशत रहेको थियो, जुन सरदरभन्दा कम हो ।

काठमाडौँसहितका स्थानमा भारी वर्षा

मौसम पूर्वानुमान महाशाखाको विवरण अनुसार बितेको २४ घण्टामा काठमाडौँमा भारी (६४ मिलिमिटर) वर्षा भएको छ । मौसमी मापदण्डअनुरुप ५० भन्दामाथि १०० सम्म भारी वर्षा मानिन्छ । एक सयभन्दा बढी अति भारी वर्षामा गनिन्छ । १५ मिलिमिटरसम्म हल्का र १५ देखि ४९ मिलमिटरलाई मध्य वर्षाको रुपमा लिइन्छ । काठमाडौँमा तीन दिनअघि ५४ मिलिमिटर वर्षा भएको छ ।

आज देशका पूर्वी भेगमा भारी वर्षा भएको छ । पूर्वका ओखलढुङ्गामा सबैभन्दा बढी ८७ मिलिमिटर वर्षा भएको छ । धनकुटामा ५३ मिलिमिटर वर्षा भएको छ । दाङ र नेपालगञ्जमा समान ४९ मिलिमिटर, धनगढीमा ३४, डडेलधुरामा २३ र ताप्लेजुङमा २६ मिलिमिटर वर्षा भएको छ ।

मध्य र पश्चिममा भारी वर्षा

महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी बुलेटिन निकालेर देशका मध्य र पश्चिमका केही स्थानम भारी वर्षा हुने जनाएको छ । अबको तीन दिनसम्म देभर हल्कादेखि मध्यम र केही स्थानभा भारी वर्षाको सम्भावना औँल्याएको हो ।

आज र भोलि मङ्गबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै जसो स्थानमा मध्यमदेखि भारी वर्षा हुने जनाइएको छ । आज दिउँसो पूर्व र मध्यका थोरै स्थानमा र पश्चिमका केही स्थानभा भारी वर्षा भएको छ भने राति पश्चिमका थोरै स्थान र मध्य र पूर्वका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

मङ्गलबार दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुनेछ भने पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । अहिलेको वर्षा अन्य कुनै मौसमी प्रणालीको प्रभाव नभई मनसुन न्यूनचापीय रेखाको प्रभावले नै बदली र वर्षा गराएको तथा बुधबारदेखि मौसममा क्रमिक सुधार आउने मौसमविद् पौडेलको भनाई छ ।

मनसुन न्यूनचापीय रेखा नेपाल नजिक (तराईको सिमाना क्षेत्र) रहेकाले विगत केही दिनयता निरन्तर वर्षा भइरहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उक्त प्रणालीको प्रभावले नेपालमा १० दिनयता दिनहुँजसो देशका धेरै भू–भागमा हल्कादेखि मध्यम तथा केही स्थानमा भारी वर्षा भएको छ ।