पर्यटन/संस्कृति

भोजपुरी भाषाको मौलिकता जोगाउने प्रयास

वीरगञ्ज । पोखरियावासी भोजपुरी भाषाको मौलिकता जोगाउने अभियानमा लागेका छन् । पछिल्ला दिन मिठासपूर्ण तथा कर्णप्रिय भोजपुरी भाषामा अश्लीलता हावी हुँदै गएपछि उनीहरु यस्तो अभियानमा लागेका हुन् । भोजपुरी भाषामा अश्लील गीत बन्नु, डिजेबाट चर्को स्वरमा बजाइनु, मोबाइल पसलहरुमा जथाभावी रुपमा अश्लील गीत डाउनलोड गरिनु जस्ता कारण विकृति मौलाएको पोखरियावासी औँल्याए ।
यस्ता विकृतिलाई रोक्न पोखरिया नगरपालिकाले अश्लील भोजपुरी गीत बजाउन प्रतिबन्ध लगाएको छ ।

नगरपालिकाको बोर्ड बैठकले अश्लील भोजपुरी गीत बजाउनेलाई शुरुमा सम्झाउने बुझाउने, यसो गर्दा पनि नमानेमा जरिवाना गर्ने निर्णय गरेको छ ।
पोखरिया नगरपालिकाका उपप्रमुख सलमा खातुनले रासससँग भने – “समाजमा नकारात्मक प्रभाव पर्न थालेकाले अश्लील भोजपुरी गीत ठूलो स्वरमा बजाउन प्रतिबन्ध गरिएको छ । जबर्जस्ती यस्ता अश्लील गीत बजाउनेलाई दण्ड जरिवाना गर्ने निर्णय समेत भएको छ ।”

पोखरिया नगरपालिकाको यो निर्णयको सराहना गर्दै पोखरियावासीले यसले भोजपुरी भाषाको मौलिकता जोगाउन बल पुग्ने बताएका छन् ।
नगरपालिकाको यस निर्णयको स्वागत गदै वडा नं ४ का कन्हैया साह तथा वडा नं ९ का परमानन्द प्रसाद चौहान एकै स्वरमा भन्छन् – शहर बजारमा रहेको मोबाइल पसलमा यस्ता अश्लील भोजपुरी गीत डाउनलोड गर्नेहरुको भीडै लागेको हुन्छ । यसबाट विद्यालय जाने बालबालिकाहरुसमेत उच्छंखृल बनिसक्यो ।
प्रायः भोजपुरी चलचित्रमा हुने अश्लील गीतहरु परिवार सँगै बसेर हेर्न पनि लाज हुने उनीहरु बताउँछन् ।
पोखरिया नगरपालिकाभित्र करिब ४० हजार भोजपुरी भाषाभाषी रहेको अनुमान छ ।