सुदूरपश्चिम

तीन वडा डुबानमा

भीमदत्तनगर । दुई दिनदेखिको लगातारको वर्षाका कारण कञ्चनपुरको महाकाली नगरपालिकाका तीन वटा वडामा डुबानको समस्या हुँदा स्थानीयवासी प्रभावित बनेका छन् ।

इलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रमुख प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्दले वर्षाका कारण महाकाली नगरपालिका– ८, ९ र १० का केही घर डुबानमा परेको जानकारी दिए । “केही परिवार मात्रै घर छाड्नु्पर्ने अवस्थामा रहे पनि धेरै परिवारको सामान हिजो (आइताबार) नै सारिएको छ”, प्रहरी निरीक्षक चन्दले भने, “बस्तीमा सर्तकता अपनाउन आग्रह गरिएको छ ।”

त्यसैगरी महाकाली नदीबाट पारि चादँनीतर्फ बैलबन्द सामुदायिक वन क्षेत्रको तटबन्ध भासिएको छ । बाढीका कारण तटबन्धका ११ जाली बगेको र तटबन्ध भासिएको चन्दले जानकारी दिए । “अहिले तटबन्धको जाली भरान गर्ने तयारी हुँदैछ”, चन्दले भने, “पहाडी जिल्लामा वर्षा भइरहेकाले डुबानको जोखिम यथावत् छ ।” महाकाली नगरपालिकाको जोगबुढा नदीमा पनि पानीको बहाव बढेको उनले जानकारी दिए । डुबानस्थलतर्फ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।

आइतबार बिहानदेखि महाकाली नदीमा पानीको बहाव बढ्दा पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत ओहोरदोहारमा समस्या भएको छ । भारतीय पक्षले महाकाली नदीमा पानीको बहाव बढेसँगै शारदा ब्यारेज (बनबासा) पुलमा चारपाङ्ग्रे सवारीसाधनको आवागमन बन्द गरेको इलाका प्रहरी कार्यालय गड्डाचौकीले जनाएको छ । सोमबार बिहान १० बजे गरिएको मापनअनुसार महाकालीमा पानीको बहाव एक लाख १५ हजार क्युसेक पुगेको छ । पुलमा पैदल र मोटरसाइकल चल्न दिइए पनि ठूला सवारीसाधनमा रोक लगाइएको छ ।

त्यसैगरी लगातारको वर्षाका कारण यहाँका स्याली, सुनवरा, चौधर, मछेली, दोदालगायत नदीमा पनि पानीको बहाव बढेको छ । भीमदत्तनगरपालिका क्षेत्रमा ढलको व्यवस्थापन प्रभावकारी नहुँदा बजार क्षेत्रमा पनि जलस्तर बढेको छ । आइतबार स्याली नदीले बगाउँदा शुक्लाफाँटा नगरपालिकामा एक महिलाको मृत्युसमेत भएको थियो ।