आर्थिक

एशियाली विकास बैंक द्वारा सहयोग

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा खानेपानी व्यवस्थापनका लागि एशियाली विकास बैंक (एडिबी) ले सहयोग गर्ने भएको छ । नगरप्रमुख दीपनारायण रिजाल र खानेपानी तथा ढल विकास विभाग काठमाडौँका निर्देशक रामचन्द्र यादवबीच आइतबार सम्झौतापत्रमा हस्ताक्षर भएको नगरपालिकाले जनाएको छ ।

एडिबीको आर्थिक सहयोगपछि अब दिक्तेलबजारका एक हजार १०० घरधुरीले स्वच्छ खानेपानी पिउन पाउने भएका छन् । नगरपालिकामा सञ्चालन हुने खानेपानी आयोजनाका लागि हप्तादिन भित्रमा टेण्डर आह्वान हुने नगरप्रमुख रिजालले बताए । “आगामी १८ महिनाभित्र काम सम्पन्न गरेर ५० वर्षसम्म स्वच्छ खानेपानी उपलब्ध गराइनेछ लक्ष्य छ,” उनले भने ।

खानेपानी विस्तारका लागि हाल दिक्तेलबजारमा सञ्चालनमा रहेको रम्बाखोला र रामपुर गरी तीन वटा मुहानबाट खानेपानी ल्याइने जनाइएको छ । रु ३२ करोडको लागतमा निर्माण हुने आयोजनाका लागि उपभोक्ताको पाँच प्रतिशत, सात करोड नगर विकास कोषबाट ऋण अनुदान र ७० प्रतिशत अर्थात् अन्य रकम एडिबीको सहयोगमा हुने नगरप्रमुख रिजालको भनाइ छ ।

‘एक वडा एक प्रसूति गृह’

ओखलढुङ्गाको चम्पादेवी गाउँपालिकाले सबै वडामा प्रसूति गृह स्थापना गर्ने अभियान थालेको छ । गाउँपालिकाले मातृ तथा बाल मृत्युदरलाई कम गर्न ‘एक वडा एक प्रसूति गृह’ अभियान थालेको हो ।

समयमै प्रसूति सेवा नपाउँदा अकालमा सुत्केरी आमा र बच्चाको ज्यान जाने जोखिमबाट बचाउन एक वडा एक प्रसूति गृह स्थापना गर्ने अभियान थालिएको गाउँपालिकाका अध्यक्ष नवराज केसीले बताए । चेतनाको अभाव र नजिकमा स्वास्थ्य संस्था नहुँदा धेरै सुत्केरी महिला र बच्चाले ज्यान गुमाउनुपर्ने समस्या भएकाले यस्ता समस्या हटाउन गाउँपालिकाले अभियान थालेको जनाइएको छ ।

गाउँपालिकाका फूलबारी, बिलन्दु, पलापु र कालीकामा प्रसूति गृह बनाएर सञ्चालनमा ल्याइएको छ । अन्य ठाउँमा छैनन् । रानीवनमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छ । दश वडा मध्ये चार वडामा स्वास्थ्य संस्था नै छैनन् । ती वडामा पनि स्वास्थ्य केन्द्र स्थापनाको काम भइरहेको अध्यक्ष केसीले बताए। आगामी असोज सम्ममा सबै वडामा प्रसूति गृह स्थापना गरिसक्ने योजना रहेको बताइएको छ । यसका लागि गाउँपालिकाले सबै वडालाई पाँच/पाँच लाख बजेट दिने निर्णय गरिसकेको छ ।