समाचार

‘बाह्य सम्पर्क र सम्बन्ध असाध्यै राम्रो’

भक्तपुर । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसँग विश्वासको आधार निर्माण भइसकेको र चीनसँग बृहत्तर विकास साझेदारीको खाका तयार पारिएको बताए ।
रफतसञ्चार क्लबले आज आयोजना गरेको अन्तक्र्रियामा उनले ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा सफल पार्न बाह्य सम्पर्क र सम्बन्ध असाध्यै राम्रो बनाइएको तथा आगामी तीन वर्षमा नेपाललाई अल्पविकसित राष्ट्रबाट माथि उठाउन र सन् २०३० सम्ममा देशलाई मध्यमस्तरको देशमा पु¥याउन दाताको सहयोग जुटाउने काम भइरहेको बताए ।
परराष्ट्रमन्त्री ज्ञवालीले भने, “नेपालको व्यापार घाटा घटाएर सन्तुलित बनाउन र वैदेशिक लगानी अभिवृद्धि गर्न, आयातमा कर छुट गर्न र नेपालमा पर्यटक भित्र्याउन पहल भइरहेको छ, अहिले परिपक्व, अनुकूल र राम्रो बाह्य सम्बन्ध विस्तार भएको छ ।”

अर्को प्रसङ्गमा उनले प्रतिपक्षले सरकारका विरुद्ध अधिनायकवादको कृत्रिम हल्ला गरी भ्रम फैलाउने कार्य गरिरहेको आरोप लगाउँदै सरकार लोकतन्त्रप्रति प्रतिबद्ध रहेको प्रष्ट गरे । प्रतिपक्षका रुपमा नेपाली काँग्रेसले विरोधका लागि विरोध मात्रै गरेको टिप्पणी गर्दै उनले भने, “सत्ताबाट बाहिरिनु परेको र पार्टी खुम्चेको पीडाले ससाना कुरामा पनि विरोध गरेर ऊ चर्चामा आउन खोजेको छ ।” उनले काँग्रेसलाई विरोधका लागि विरोधभन्दा पनि रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न आग्रह गरे ।

सरकारको काममा ढिलाइ भएको भनी गरिएको आलोचनालाई सरकारले सुझावका रुपमा लिएको बताउँदै मन्त्री ज्ञवालीले भने,“अघिल्लो सरकारले ल्याएको बजेटमा काम गर्न र सो सरकारले ल्याएको समस्यालाई समाधान गर्न सरकारलाई पाँच महिना लाग्यो, अब सरकारले नयाँ बजेटअनुसार काम शुरु गरेकाले काम प्रभावकारी रुपमा अगाडि बढ्छ ।”

अघिल्लो सरकारले गरेको नियुक्ति बदर गर्दै प्रतिशोध साँध्ने काम सरकारले नगरेको स्पष्ट गर्दै पमन्त्री ज्ञवालीले भने, “वर्तमान सरकारले देउवा सरकारले गरेको नियुक्ति बदर गरेको होइन, देउवा सरकारले माओवादीका मन्त्रीलाई विनाविभागीय बनाएर सत्ताको दुरुपयोग गरी निर्वाचन आचारसंहिताविरुद्ध निर्वाचनलाई नै प्रभावित पार्ने गरी गरेको नियुक्ति बदर गर्न खोजेको हो ।”

मन्त्री ज्ञवालीले दोहोर कर जनताले तिर्नु नपर्ने बताउँदै त्यस्तो कर छ भने सरकारले हटाउने विश्वास दिलाए । संविधानले नै प्रदेश र स्थानीय सरकारलाई कर लगाउन अधिकार दिएको स्मरण गराउँदै उनले जनताले दोहोरो कर भने तिर्नु नपर्ने स्पष्ट गरे ।