लुम्बिनी

वृक्षरोपण अभियान शुरु

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा वृक्षरोपण सप्ताह शुरु भएको छ । ‘ग्रिन तिलोत्तमा : क्लिन तिलोत्तमा’ नाराका साथ नगरपालिकाले भदौ १ गतेसम्म चल्ने गरी हरियाली प्रवद्र्धन गर्न वृक्षरोपण सप्ताह आयोजना गरेको हो ।
तिलोत्तमा–४ स्थित प्रस्तावित बालउद्यान क्षेत्रमा शनिबार आयोजित एक कार्यक्रमबीच बिरुवा रोपी नगरप्रमुख बासुदेव घिमिरेले सो वृक्षरोपण सप्ताह शुभारम्भ गरे ।
सप्ताहअन्तर्गत नगरमा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका ५० हजार बिरुवा रोपिने नगरप्रमुख बासुदेव घिमिरेले जानकारी दिए । विभिन्न सङ्घ–संस्था, क्लब, टोल विकास संस्थालगायत समग्र नगरवासीसँगको सहकार्यमा वृक्षरोपण हुने नगरपालिकाले जनाएको छ । जिल्ला वन कार्यालय तथा सामुदायिक वनमार्फत प्राप्त वनस्पतिका ३० हजार तथा नगरपालिकाले खरिद गरेका फलफूलका २० हजार बिरुवा रोपिने कार्यक्रम रहेको नगरप्रमुख घिमिरेले बताए ।

नगर उपप्रमुख जागेश्वरी चौधरीले वडा कार्यालयमा सम्पर्क राखी आ–आफ्नो घर–आँगन, खाली जमीन तथा उपयुक्त स्थानमा विभिन्न प्रजातिका फलफूल तथा वनस्पतिका बिरुवा रोप्न नगरवासीलाई आह्वान गरे।

वृक्षरोपण सप्ताहका संयोजक दानबहादुर चौधरीले रोपिएका बिरुवालाई हुर्काइ त्यसबाट लाभ लिन सबैलाई आग्रह गरे । सप्ताहअन्र्तगत आँप, अम्बा, अनार, कागती, लिची, कटहर, अमला, जामुन, सुपारी, टिक, बकाइनो, खयरलगायत विभिन्न प्रजातिका बिरुवा रोपिनेछ ।