पर्यटन/संस्कृति

सनातन विद्वत परिषद् स्थापना

काठमाडौँ । शास्त्रको ज्ञान नभएकाले अन्त्येष्टि संस्कारसम्बन्धी पुस्तक प्रकाशन गरी पाँच वा सातदिने अन्य पद्धतिका नाममा भ्रम हुन थालेपछि आधिकारिक रूपमा शास्त्रीय ब्याख्या गर्न सनातन विद्वत परिषद् नेपालको स्थापना गरिएको छ । परिषद्मा वेद, इतिहास, पुराण, संस्कृति, दर्शन, धर्मशास्त्र, ज्योतिष, तन्त्र, कर्मकाण्ड आदि विषयका विज्ञ हुन् ।
मृत्यु संस्कारका बारेमा फैलाइएका भ्रम निवारण गर्न परिषद्ले ‘सनातन धर्ममा अन्त्येष्टि संस्कार १३ दिन नै’ नामक पुस्तक प्रकाशन गरेको छ । अन्त्येष्टि संस्कारका बारेमा शास्त्रले उल्लेख गरेका विषय समेटिएको पुस्तक शनिबार जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले विमोचन गरे ।

कार्यक्रममा उनले अन्त्येष्टि संस्कारका बारेमा भ्रम फैलाउने समूह शास्त्रार्थ गर्न तयार हुनुपर्ने बताए । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले हिमवत् खण्डमा विकास भएको संस्कृति र संस्कार समाप्त गर्ने उद्देश्यले अन्त्येष्टिका बारेमा भ्रम फैलाएको बताए ।

तीन, पाँच वा सात दिनमा अन्त्येष्टि संस्कार गर्नेलाई सामाजिक बहिष्कारको अभियान शुरु गर्नुपर्ने उनको भनाइ थियो । नेपाल संस्कृत विश्वविद्यालयका पूर्वशिक्षाध्यक्ष प्राडा विद्यानाथ भट्टले सनातन धर्मावलम्वीका १६ संस्कारमध्ये लोप भएर पाँच मात्र सीमित भएका बेला त्यसलाई पनि लोप गराउने षड्यन्त्र भइरहेको धारणा राखे ।

कार्यक्रममा परिषद्का अध्यक्ष आचार्य पूर्णचन्द्र ढुंगेल, प्राडा दीर्घराज घिमिरे, प्राडा ऋषिराम पोखरेल, प्राडा देवमणि भट्टराई, सहप्राडा माधवप्रसाद पाण्डेयलगायतले शास्त्रविरुद्ध भ्रम फैलाउनेलाई सार्वजनिक रूपमा शास्त्रार्थ गर्न आह्वान गरे ।

शास्त्रीय विषयका २१ जना विद्वानको लेख समेटिएको पुस्तकमा १११ पृष्ठ छ । पुस्तक प्रकाशनका लागि जगतगुरु नेपाल सञ्चार केन्द्रले सहयोग गरेको हो ।