स्वास्थ्य

गुणस्तरीय सेवा दिन उपप्रधानमन्त्री यादबको निर्देशन

रत्ननगर । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले चितवनको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको स्थलगत अनुगमन गरी गुणस्तरीय सेवा प्रदान गर्न निर्देशन दिएका छन् ।

उनले बिरामीको सेवामा ढिलासुस्ती नगरी सेवालाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । उपप्रधानमन्त्री यादवले चितवनको क्यान्सर अस्पताललाई अन्कोलोजीको विषयमा एमसिएच र डिएम अध्ययनका लागि प्रतिष्ठानका रुपमा विकास गर्न मन्त्रालय सकारात्मक रहेको बताए ।

अस्पतालको सेवालाई पूर्व क्षेत्रमा समेत लैजानुपर्ने आवश्यकता औँल्याउँदै उनले अस्पताललाई सुविधायुक्त बनाउन आवश्यक सहयोग गर्ने आश्वासनसमेत दिए । क्यान्सरको उपचारमा उत्कृष्ट संस्था बनाउन मन्त्रालयले आवश्यक सहयोग गर्नेसमेत उनको भनाइ थियो ।

मन्त्री यादवले शनिबार अस्पतालको रेडियो थेरापी, डाइग्नोसिस, प्याथोलोजी, डेकेयर, हस्पीस वार्ड र नवनिर्मित २०० श्ययाको भवनको स्थलगत निरीक्षक गर्नुभएको अस्पतालका कानूनी अधिकृत गोकर्ण सापकोटाले जानकारी दिए ।

सो क्रममा अस्पतालका निमित्त कार्यकारी निर्देशक निर्मल लामिछानेले अस्पतालका योजना र गतिविधिका बारेमा जानकारी गराएका थिए । हाल क्यान्सर अस्पताल २२५ श्ययामा सञ्चालित छ ।