समाचार

महासंघको प्रतिनिधिमण्डलसँग प्रधानमन्त्रीले सरकारले लगाएको करबारे यसो भने !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योग, शिक्षा, स्वास्थ्यलगायत सबै क्षेत्रको समस्या समाधान गर्न सरकार प्रतिबद्ध एवं क्रियाशील रहेको बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गर्दै प्रधानमन्त्रीले सबै क्षेत्रको समस्यालाई समाधान गर्न सरकारले योजनाबद्धरुपमा प्रयास गरिरहेको बताए ।

औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि पहल भएको र केही समयभित्रै पूर्णरुपमा परिणाम आउने प्रधानमन्त्रीको कथन थियो ।

प्रधानमन्त्री ओलीले भने, “उद्योग, शिक्षा, स्वास्थ्य, ऊर्जा, कृषिलगायत क्षेत्रको सुधार गर्दै समग्ररुपमा मुलुकको आर्थिक अवस्थाको सुधारमा सरकार लागिपरेको छ । त्यसमा निजी क्षेत्रको साथ जरुरी रहन्छ ।” स्थानीय, प्रदेश र संघीय सरकारले विभिन्न शीर्षकमा लगाएको करका कारण व्यवसायी मर्कामा परेको भन्दै महासंघको टोलीले प्रधानमन्त्रीसँग गुनासो गरेको थियो ।

महासंघका अध्यक्ष भवानी राणाले करको बोझ अन्त्य, पुराना औद्योगिक नीति परिवर्तनलगायत औद्योगिक क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराइएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले उद्योगिक क्षेत्रको सुधार र विस्तारका लागि बुँदागत सुझाव दिन महासंघको प्रतिनिधिमण्डलाई आग्रह गरेको अध्यक्ष राणाको भनाइ छ । पछिल्लो समय तीनै तहका सरकारले विभिन्न शीर्षकमा कर लगाएको र त्यसले उद्योगी तथा व्यवसायीलाई नकारात्मक असर पारेको भन्दै महासंघले प्रक्रियागतरुपमा प्रष्ट हुन सरकारलाई अनुरोध गर्दै आएको छ ।