प्रदेश 2

ग्रामीण महिला बचततर्फ झुम्मिए

महोत्तरी । घरबाट बाहिर निस्कनको लागि हिच्किचाउने ग्रामीण क्षेत्रका दलित तथा अल्पसंख्यक महिला समूहमा आवद्ध भएपछि लाखौँको बचत गर्न सफल भएका छन् । समग्र उत्थान केन्द्र महोत्तरीको सहयोगमा सञ्चालित समूहमा आवद्ध भएका महिलाले मासिक रुपमा बचत गर्न र आवश्यक परेको खण्डमा सदस्यलाई कम ब्याजदरमा ऋण उपलब्ध गराउन थालेका छन् ।

तीन वर्षअघि रु ५० का दरले बचत गर्दै आएकी समूहमा आवद्ध फेकनीदेवी ठाकुरले मजदुरी गरेर भए पनि प्रत्येक महिनाको १० गतेका दिन वर्तमान समयमा आएर रु एक सयका दरले बचत गर्दै आएकी छिन् । हाल उहाँको संस्थामा रु चार लाख बचत भएको छ । समूहमा आवद्ध सदस्यले बालबच्चालाई पठनपाठन गराउनुको साथै समूहमै बचत तथा ऋणको कारोबार गर्दै आएको फेकनीदेवीले बताइन् ।

मासिक बचत गर्न शुरु गरेकी गौशाला–२ निगौलकी अञ्जुकुमारी महतोलाई अब घरपरिवारले पनि साथ र सहयोग दिन थालेको छ । विसं २०६९ मा स्थापित सो संस्थामा आवद्ध सदस्यहरु अहिलेसम्म रु चार लाख ५० हजार बराबरका बचत गर्न सफल भएका हुन् । सदस्यले प्रतिमहिना दुई सयका दरले बचत गर्दै आएका छन् भने आवश्यक परेको खण्डमा बिना धितो ऋण पाएका छन् ।

समूहमा आवद्ध भएपछि घुघट प्रथाको साथै अब दाइजो प्रथामा उत्रिने आफूहरुको सोच रहेको अञ्जुले बताए । राम सामाजिक समूह गौशाला–६ फूलकाहाकी अध्यक्ष पानोदेवी सदाले पनि बचत गर्न थालेपछि घरखर्चका लागि कसैसँग हात फैलाउनु पर्ने अवस्था नरहेको बताए ।

आफूसँग पैसा भएपछि कसैले समाजमा हेप्न पाएका छैनन् भने आफूलाई पनि स्वावलम्बी हुन पाएकमा गर्वको अनुभव भएको छ । त्यही बचतबाट बालबालिकालाई पठनपाठन गर्न सहज भएको रीनादेवीको धारणा रहेको छ ।