कृषि

उखु पेल्नुको साटो उखु किसान नै पेलिए

नवलपरासी । पश्चिम नवलपरासीका उखु किसानले सरकारले निर्धारण गरेअनुसार चिनी उद्योगबाट उखु बिक्री गरेबापतको बाँकी रकम भुक्तानी पाउन सकेका छैनन् ।

सरकारले उखुको मूल्य प्रतिक्विन्टल रु ५३६.५६ पैसा निर्धारण गरे पनि उखु किसानलाई उद्योगले प्रतिक्विन्टल रु ४६५।९२ पैसाका दरले मात्र रकम दिँदै आएको छ ।

सरकारले तोकेको मूल्यअनुसार किसानले रकम नपाउँदा उनीहरु ठगिन बाध्य भएको उखु उत्पादक कृषक समिति नवलपरासीका अध्यक्ष उमेशचन्द्र यादवले जानकारी दिए । यादवका अनुसार यस वर्षबाट सरकारले चिनी उद्योगलाई यसअगावै दिँदै आएको भ्याटबापतको सहुलियत रकम हटाएपछि सो भ्याटबापतको रकम किसानबाटै उद्योगले असुली गरेर मात्र भुक्तानी गरेको अवस्था छ ।

जिल्लामा बागमती खडसारी चिनी मिल, इन्दिरा सुगर इण्डष्ट्रिज र लुम्बिनी चिनी मिल गरी तीन ठूलो चिनी मिल रहेका छन् । लुम्बिनी चिनी मिलबाहेक बागमती खडसारी चिनी मिल र इन्दिरा सुगर इण्डष्ट्रिजले मात्र किसानको बाँकी रकम भुक्तानी गरिरहेका छन् ।

अघिल्लो वर्ष प्रतिक्विन्टल रु ५३१ मूल्य पाएका उखु किसानले यस वर्ष सरकारले निर्धारण गरेको रु ५३६.५६ पैसाका दरले भुक्तानी पाउने आशामा थिए । निर्धारण गरेको मूल्यअनुसार रकम नपाउँदा किसान निरास बनेको उखु किसान लख्खु यादवको भनाइ छ ।

तुलनात्मक रूपमा पश्चिम नवलपरासीमा पछिल्लो केही वर्षयता उखु उत्पादनमा कमी आएको अवस्था देखिन्छ । समयमै उचित मूल्य पाउन नसक्दा किसान बिस्तारै उखु खेतीबाट केरा खेतीतर्फ आकर्षित बन्दै गएका कारण उत्पादन घट्दै गएको छ ।

पूर्वका चिनी उद्योगले प्रतिक्विन्टल रु ४६५।९२ पैसाको दरले भुक्तानी गरेकाले यस क्षेत्रका उद्योगले पनि सोहीअनुसार भुक्तानी गरिएको इन्दिरा सुगर इण्डष्ट्रिजका महाप्रबन्धक टंकनाथ काफ्ले जानकारी दिए ।

हालसम्म चिनी उद्योगले किसानलाई करीब ५० प्रतिशत रकम मात्र भुक्तानी गरिसकेका छन् । किसानले सरकारले निर्धारण गरेअनुसारको रकम पाउनुपर्ने र यसका लागि स्थानीय प्रशासनले उद्योग र किसानबीच समन्वय गर्न लागेको पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जानकारी दिए ।

उखु उत्पादक महासंघका केन्द्रीय सदस्य प्रेमचन्द्र गुप्ताका अनुसार पश्चिम नवलपरासीका सबै चिनी उद्योगबाट करीब रु ४० करोड बाँकी रकम भुक्तानी लिन बाँकी रहेको छ ।

पश्चिम नवलपरासी उखुको पकेट क्षेत्रको रुपमा लिइन्छ । जिल्लामा कूल साँढे सात हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुदैँ आएको छ । यहाँका करीब १४ हजार जनसङ्ख्या प्रत्यक्ष र अप्रत्यक्ष रूपमा उखु खेतीमा आवद्ध छन् ।