लुम्बिनी

झन्डै बाह्र सय जनाले मौकाको फाइदा उठाए

बुटवल । बुटवलमा सञ्चालित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा एक वर्षको अवधिमा एक हजार १५९ गरीब तथा विपन्न वर्गका बिरामीले निःशुल्क उपचार गराएका छन् ।

आर्थिक वर्ष २०७४/०७५ मा निःशुल्क सेवाका लागि सरकारबाट प्राप्त सहयोग र अस्पताल आफैँले उपलब्ध गराएको निःशुल्क सेवाबाट बिरामीले सो सुविधा प्राप्त गरेका हुन् ।

निःशुल्क उपचारका लागि मुटु र मिर्गौलाको उपचारमा सरकारले उपलब्ध गराउँदै आएको सहयोग र अस्पतालबाट गरी रु छ करोड ९९ लाख ८९ हजार ४०६ बराबरको खर्च ब्यहोरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।

आर्थिक अभावका कारण कुनै पनि बिरामी उपचारबाट वञ्चित हुनु नपरोस् भनेर अस्पतालले आर्थिक अवस्था अत्यन्त कमजोर भएका बिरामीलाई निःशुल्क उपचार गर्दै आएकामा ५१६ जनाले सो सुविधा उपभोग गरेका थिए ।

मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा निःशुल्क उपलब्ध गराउँदै आएकामा सबैभन्दा धेरै ३३१ मिर्गौलाका बिरामीले रु चार करोड, सात लाख ५२ हजार ५०० बराबरको नियमित डायलाइसिस सेवा लिएको अस्पतालले जनाएको छ

त्यस्तै ३१२ जना मुटुका बिरामीले सरकारले उपलब्ध गराएको निःशुल्क सेवा लिएका छन् । मुटुका बिरामीका लागि रु दुई करोड, २४ लाख ९४ हजार २११ बराबरको निःशुल्क उपचार बापत खर्च गरिएको अस्पतालले जनाएको छ । २०७० सालमा स्थापना भएको उक्त अस्पतालमा मुटुको क्याथल्याब सेवासहित १७ वटा डायलोसिस उपकरण सञ्चालित छन् ।

स्थानीय उद्योगी तथा व्यवसायीको सक्रियतामा गैरनाफामुखीरुपमा सञ्चालनमा आएको सो अस्पतालमा पछिल्लो समय विभिन्न रोटरी क्लबमार्फत रोटरी फाउण्डेसनले सहयोग उपलब्ध गराउँदै आएको छ ।

बुटवलमा विशेषज्ञ सेवासहितको क्लाथल्याब सञ्चालनमा आएपछि मुटुको एन्जीयोग्राम, एन्जीयोप्लाष्ट र पेशमेकर राख्ने कार्यका लागि थोरै भए पनि बुटवल बाहिर जानुपर्ने बाध्यता हटेको अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा समिर गौतमले जानकारी दिए ।