विचार/ब्लग

‘जदौ दाहाल यज्ञनिधि’ श्रद्धाञ्जली स्वरुप लेखिएको निबन्ध !

डा. नवराज सुब्बा/काठमाडौं । जीवनको आकाशमा निराशाका बादल नदेख्ने मानिस सायदै होलान् । म पनि आकाशमा कहिलेकाहि कालो बादल देख्थे गर्दछु । क्षितिजैसम्म डम्म ढाकेर बसेका बादलमा चादीका घेरा पनि देख्छु र यसैलाई हेरेर बाच्ने बल प्राप्त गर्दछु । मेरा मनका क्षितिजमा चादीको घेराझैं चम्किरहनेहरूमा मनले खाएका सामान्य मान्छेहरू छन् साहित्यकार छन्, कलाकार छन् जसको रचनाले विचारले मलाई जीवनमा सधै आत्मबल र हौसला दिइरहेको छ । यिनका विचार सुन्दा, रचना पढ्दा र तस्वीर हेर्दा मात्र पनि छाती गमक्क फुलेर आउछ मन त्यसै गदगद भएर आउछ । मेरो मनभित्र आफ्नो स्थान बनाएर बसेका एक साहित्यकार हुन्– दाहाल यज्ञनिधि ।

तीसको दशकमा रेडियो नेपालमा सारै सशक्त र लोकप्रिय कार्यक्रम– एउटा “घटना र बिचार” र अर्को “साहित्यिक कार्यक्रम” थियो । त्यसबेला रेडियो नेपालमा साहित्यिक कार्यक्रम दाहाल यज्ञनिधिले संचालन गर्दथे । उनको कार्यक्रमले श्रोतालाई मोहनी नै लगाएको थियो । जो पनि उनको नौलो वक्तृत्व शैलीको चर्चा गर्दथे । यसो हुनाका केही कारणहरू थिए । पहिलो कारण थियो उनको जदौ सम्बोधन । दोश्रो थियो उनको प्रखर वाचनशिल्प र तेश्रो थियो उनको ओजपूर्ण आवाज, अनि साहसीपन् आदि । म पनि यो कार्यक्रम चाख मानेर नियमित रूपमा सुन्ने गर्दथें । यस्तै ३८ सालतिर मैले एउटा कविता रेडियो नेपालको साहित्यिक कार्यक्रममा पठाए । एकदिन साहित्यिक कार्यक्रममा शीर्षक बिनाको एउटा कविता र नाम उनले रेडियो नेपालमा वाचन गरिदिए । त्यसबेला पो म झस्किए, मैले त हतारमा कविताको शीर्षकै नलेखी पठाएछु । जुन कविता हालै प्रकाशित “जीवन मेरो शब्दकोशमा” “प्रस्ताव” शीर्षकमा प्रकाशित पनि भएको छ । जुन कुरा सम्झदा पनि मलाई आज रमाइलो लाग्छ । उक्त कविता यस्तो थियो ।

तिम्रो न्यानो छातीमा
बिसाएका मेरा सपनाहरू
वसन्तमा फुल्ने फूलहरू हैनन्
जसलाई शिशिरले झार्न सकोस्
लालुपाते र बाबरी होइनन् माया
जो वर्षैपिच्छे टिप्न सकियोस्
वर्षेनी लाग्ने मेलामा धाउदा
मायाको गलबन्दी लाउदा
दुनियाको नजर लाग्यो मायालु
आऊ वरपीपल रोपौं मायाको चौतारीमा
दुईटा ढुंगा थपौं मायाको देउरालीमा ।

रेडियो तथा पत्रपत्रिकामा दाहाल यज्ञनिधिका लेख रचना पढेर सुनेर एक प्रकारको भावनात्मक नाता गासिएको थियो उनीसंग । देशमा राजनीतिक सत्ता परिवर्तन पटक पटक भयो । उनी रेडियो नेपालबाट कहिले आए अनि कहिले हराए । एकदिन मैले सुनें उनी मृगौलाको रोगको उपचार गराउन नपाएर छट्पटिएका छन् । उसबेला मेरो मन त्यसै खिन्न भयो । मैले केही सहयोग गर्न सकिन केवल मनमनैको शुभकामना बाहेक । संखुवासभा जिल्लामा काम गर्दैथें । एकदिन एउटा मित्रको कोठामा साहित्यिक भित्तेपात्रोमा उनैको एउटा कविता “मगर्नी मैया” देखें, पढें खुब मनपर्यो मैले त्यो क्यालेण्डर साल सकिएपछि पाउने आसय मित्रसमक्ष राखें, उनले उक्त भित्तेपात्रो मलाई उपहार दिए । मैले उनको “मगर्नी मैया” कविता कटिङ्ग गरेर राखें ।

यो भन्दा अरु नाता मेरो उनीसंग केही थिएन । सम्झन्छु यो त केवल भावना हो । एकपक्षीय प्रेम जस्तो । विशिष्ठ गायक तथा सगीतकार बच्चु कैलाशलाई म असाध्यै मन पराउछु तर कतै भेटेमा उनले मलाई नचिन्न सक्छन्, मन नपराउन पनि सक्छन् मलाई बस् । मनभित्रको भावनाको संसार बेग्लै हुन्छ । जसलाई देखाउन र व्यक्त गर्न पनि अप्ठेरो हुन्छ । तैपनि यसले जानेर वा अन्जानमै जीवन हिड्ने बाटो देखाउदो रहेछ र जगत हेर्ने दृष्टिकोण समेत बनाइदिंदो रहेछ ।

एउटा सांगीतिक एलबम् निकाल्ने परिकल्पनामा छु । “चुङ्गवा दोभान” लोकगीति एल्बम्बाट ख्याति कमाएका हाल काठमाडौमा बस्ने मेरा गाउले भाइ खगेन्द्र यक्सोसग एकदिन काठमाडौंमा भेट भयो । उनले मेरो कवितासग्रह “जीवन मेरो शब्दकोश” को कुरा उठाए । उनले “दाहाल यज्ञनिधिसंग कार्यक्रम गर्नुपर्दछ है दाइ !” भनेर सल्लाह दिए ।

मलाई अप्ठेरो लाग्यो । उहासंग भावनाको नाता त थियो तर देखभेट छैन परिचय छैन । मैले उनलाई भनें– “पहिले मेरो पुस्तक उहालाई पढ्न दिउ“ त्यसपछि उहाले के कस्तो प्रतिक्रिया दिनुहुन्छ । मन पराउनु भयो भने समय दिनुहोला अनि जाउला नि !” भनेको भालिपल्टै फोन आयो । “दाइ तपाइको कवितासङ्ग्रह दाहाल यज्ञनिधिले मन पराउनुभएछ । तपाइको र वहाको अनुकूल समय मिलाएर रेडियो नेपाल जानुपर्ला । वहाले निमन्त्रणा गर्नु भएको छ ।”

दाहाल यज्ञनिधिसग केही दिनभित्रै भेट भयो, चिया खायौं, फोटो खिचायौं । मृगौलाको स्वास्थ्यस्थितिको कारण उहा खानेकुरामा निकै सचेत हुनुहुदोरहेछ । उहाले भन्नुभो “नवराजजी म तपाईसंग एक अङ्क साहित्य र अर्को अङ्क लिम्बू संस्कृतिबारे गफ गर्छु है ।” सुनेर मलाई रमाइलो लाग्यो अलि अप्ठेरो पनि । भोलिपल्ट दुईबजे सिंहदरबारको पूर्व गेटमा लिन आउछु भन्नु भएथ्यो । म आधा घण्टा अघि नै गेटमा पुगें । गेटमा छिर्ने निस्कने मान्छेको रमिता हेरें । मनमा नानाथरि कल्पना गरें । यो गेट पहिला बनेको थिएन । पहिले हामी मूलगेटबाट क्या शानले निसंकोच ओहोरदोहोर गर्ने गर्दथ्यौं रेडियो नेपाल छिर्दा । आज त सबैको खानतलासी हुन्छ । गेटमा बस्ने ड्यूटीवाल सबै आगन्तुकलाई शंङ्काकै नजरले हेर्दछन् । ठीक दुईबजे दाहाल यज्ञनिधि गेटमा आउनु भयो । म उहाको पछिपछि गए अतीत सम्झदै ।

एउटा स्टूडियोमा हामी दुईजना अन्तरवार्ताको लागि बस्यौं । उता प्राविधिक सुलोचना बज्राचार्य रेकर्ड गर्दै हुनुहुन्थ्यो । हुन त उहाले हामी दुई दिनको लागि दुईवटा कार्यक्रम रेकर्ड गर्नेछौं भन्नुभएथ्यो । तर बोल्दै जादा कुरा दुई अंकमा सकिएन । “हैन धितै मरेन पो ! अझै एउटा अंक थप बनाउ है नवराजजी !” भन्नु भो मैले पनि “हुन्छ” भने र हामीले करिब दुई घण्टामा तीन अंक कार्यक्रमहरू रेकर्ड गर्यौं ।

म अन्तरवार्ता दिदैथिए । पहाड पुगेको थिए । आमा सम्झदै थिए । कार्यक्रममा “आमाको तिर्सना” कविता वाचन गरें । स्टूडियोमा कविता वाचन गर्दा बीचमा मलाई अलि अप्ठेरो महसुस भयो मेरो गला वाचन गर्दागर्दै अवरुद्ध भयो । म कविता वाचन गर्दागर्दै अलि भावुक बनेंछु क्यार । मलाई दाहाल यज्ञनिधिले पुलुक्क हेर्नुभयो । उहाले थाहा पाउनुभो कि भनेर झस्किए र ठानें श्रोताले त पक्कै थाहा पाउदैनन् होला । पछि विराटनगरमा गजलकार खेम नेपालीसंग एकदिन भेट भयो । उहाले प्रसारित कार्यक्रमबारे चर्चा गर्दै वाचन गर्दा बीचमा मेरो गलाअवरुद्ध भएको कुरा उठाउनु भयो । लाग्यो, श्रोताले प्रस्तुति ध्यान दिएर सुन्दारहेछन् । रेडियो नेपालबाट हुने प्रसारणको पूर्वसूचना मोबाइलद्वारा एस.एम.एस. गरेर मेरा निकटतम् मित्र र साहित्यकारहरुलाई दिएको थिए

मेरा मनका क्षितिजमा चादीको घेराझैं चम्किरहनेहरूमा मनले खाएका सामान्य मान्छेहरू छन् साहित्यकार छन्, कलाकार छन् जसको रचनाले विचारले मलाई जीवनमा सधै आत्मबल र हौसला दिइरहेको छ । यिनका विचार सुन्दा, रचना पढ्दा र तस्वीर हेर्दा मात्र पनि छाती गमक्क फुलेर आउछ मन त्यसै गदगद भएर आउछ । मेरो मनभित्र आफ्नो स्थान बनाएर बसेका एक साहित्यकार हुन्– दाहाल यज्ञनिधि ।

रेडियो नेपालबाट “समाजको मझेरीमा” कार्यक्रमअन्तर्गत पहिलो अंक जहा “आमाको तिर्सना” वाचन गरिएको उक्त कार्यक्रम सकिनासाथ काठमाडौंबाट मोबाइलमा फोन आयो “अङ्कल ! मलाई तपाईको कविता सारै मन पर्यो” म छक्क परें । नचिनेको कुनै किशोरीको तर गम्भीर ध्वनी छ । लाग्यो उनी अलि अवरुद्ध गलाले बोल्दैछिन् र मलाई आभार र धन्यवाद दिंदै थिइन ती अपरिचित किशोरीले । पछि थाहा भयो मैले नै अघि एस.एम.एस. गरेको मेरो हितैसी मित्र हीरा शर्माकी छोरी रहिछन् उनी । मैले पनि उनलाई धन्यवाद दिए“ ।

प्रसारित उक्त अन्तवार्तालाई लिएर धेरैले फोनबाट धन्यवाद र बधाइ दिए त्यो दिन । तर विराटनगरबाटै येहाङ्ग लावतीजीले हासी-हासी भन्नुभो– “हैन मेरो त आशु पो झरेछ तपाइको कविता सुन्दासुन्दै । कतिपय चलन त मैले पनि पो भुलेंछु तपाइको कविताले सम्झाउदा पो झस्किए ।” मलाई यी दुइ जनाले व्यक्त गरेका अभिब्यक्तिले मेरो मन बिशेष छोयो ।

त्यसपछि मैले फेरि सम्झिए दाहाल यज्ञनिधिलाई । आजसम्म मेरो कवितासग्रहमा रहेको “आत्महत्या गर्नअघि” को बारेमा कसैले चर्चा गर्छ कि भनेर निकै आशा गर्दथें । तर अरू कविताहरुको निकै चर्चा भयो तर यसको कमै भयो । म अचम्म मान्दथें म साच्चै एक्लै रहेछु । दाहाल यज्ञनिधिले मलाई उक्त कविताको बारेमा कार्यक्रममा मात्र होइन सिंहदरबार निस्कने बेलामा पनि निकै सोध्नु भयो र भन्नु भयो “तपाईको यो कविता नेपाली साहित्यमा नौलो स्वरूप र शैली लिएर आएको छ जसलाई मैले राम्ररी बुझें किनभने मेरी बहिनीले पनि सेनाको बलात्कारको पीडाले आत्महत्या गरिन् ।” मैले यसबेला सम्झें वास्तवमा संसारमा म एक्लो रहेनछु । उक्त “आत्महत्या गर्न अघि” कविताको एक अंश यसप्रकार छ ।

आमा ! वेदना र प्रसवकी प्रतिमूर्ति
म संतान तिम्रो निरन्तर मृत्युन्मुख
आज आत्महत्या निकट छु
उसबेला सीतालाई मुक्ति दिने
धरती आज मेरो सामु फाट्छ
आफ्नै माया नलागे पनि आमा
मलाई तिम्रो माया लाग्छ ।

२०६३ साल चैत्रमा कामविशेषले काठमाडौंमा गएको बखत “समाजको मझेरीमा” कार्यक्रमको लागि रेडियो नेपालमा अन्तरवार्ता दिए र विराटनगर आएर कार्यक्रम सुनें र सुनाए । निकै जनाले स्याबासी दिए । मैले पनि आफ्नो कर्तब्य निर्वाह गर्न दाहाल यज्ञनिधिलाई टेलिफोनबाट “धन्यवाद है सर” भनें र खुशी व्यक्त गरें । उहा पनि उत्तिकै खुशी हुनुभो र भन्नुभो– “तपाई यतिञ्जेल लुकेर बस्नु भएको रहेछ, सबैसामु राखियो आनन्द लागेको छ ।”

यसरी मैले कल्पना गरेको दाहाल यज्ञनिधि र भेटेको दाहाल यज्ञनिधि उस्तै रहेछन् । उनको सरलता र विशिष्ठतालाई जदौ । –मनको मझेरी’–२०६४ निबन्धसंग्रहबाट