लुम्बिनी

प्रदेश नं ५: नेकपा संसदीय दलको बैठक सम्पन्न

बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश ५ प्रदेशसभा संसदीय दलको पाँचौँ बैठक आज बुटवलमा सम्पन्न भएको छ ।

प्रदेशसभाको बजेट अधिवेशन सकिएको भोलिपल्ट बसेको संसदीय दलको बैठकले दलको उपनेतामा पार्टीका नेता तथा प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसीलाई चयन गरेको दलका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

बैठकले १५ सदस्यीय संसदीय दल बोर्डसमेत गठन गरेको छ । बोर्डको सचिवमा प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ चयन भएका छन् । यस्तै सदस्यमा गीता थापा, सरस्वती गौतम, कमला भण्डारी, कमला विक, इन्द्रजित चौधरी, वसन्त घर्तीमगर, विष्णु पन्थी, आइ।पी खरेल, रामजी घिमिरे, कुलप्रसाद पोखरेल र धर्मबहादुर लाल श्रीवास्तव रहेको प्रमुख सचेतक ढकालले जानकारी दिए ।

बैठकले संसद् स्थगन भएको अवस्थामा संसदीय समितिलाई क्रियाशील बनाएर विषयगत मन्त्रालय मन्त्रालयका कानून निर्माणमा क्रियाशील बनाउने र प्रदेशसभा सदस्यले विषयगत मन्त्रालयका आवधिक योजना कार्यान्वयनमा क्रियाशील बनाउने विषयमा समेत छलफल भएको प्रमुख सचेतक ढकालले जानकारी दिए ।