शिक्षा

स्थानीयवासीको पहलमा आवासीय विद्यालय

म्याग्दी । विद्यार्थीमा पढाइप्रति रुचि बढाउन र शिक्षामा गुणस्तरीय सुधार ल्याउने उद्देश्यले अन्नपूर्ण गाउँपालिका–२ मान्द्रेढुंगास्थित हिमालयन आधारभूत विद्यालयलाई आवासीय बनाइएको छ ।

स्थानीयवासीले देउसीभैलो खेलेर जम्मा पारेको रकम तथा प्रवासी नेपालीबाट प्राप्त आर्थिक सहयोगमा विद्यालयमै छात्रावास सञ्चालनमा ल्याइएपछि बिहान बेलुकीको समय त्यहाँ रहेका विद्यार्थी पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत संलग्न हुँदै आएकाले अध्ययन–अध्यापनमा सुधार आएको प्रअ रामप्रसाद तिवारीले बताए ।

आवासीय रूपमा सञ्चालन हुने जिल्लाकै पहिलो यस विद्यालयमा कक्षा ५ सम्म पढाइ हुँदै आएको र हाल उक्त विद्यालयमा ३० बालबालिका अध्ययनरत छन् । छ शिक्षक कार्यरत सो विद्यालयमा तीन निजी स्रोत र तीन सरकारी दरबन्दीका छन् । सबै कक्षा कोठामा शैक्षिक सामाग्रीको प्रर्दशनबाटै पढाइने व्यवस्था मिलाइएको छ ।

आवासीय विद्यालय सञ्चालन गर्न अभिभावकले आलोपालो गरेर खाद्यान्न र तरकारी उपलब्ध गराउँछन् । शिक्षकको अतिरिक्त समयको भत्ता र व्यवस्थापन खर्चका लागि गत वर्ष रु एक लाख ९० हजार जुटाइएको थियो ।

आवासीय विद्यालयको निरन्तरता र पूर्वाधार विस्तारका लागि स्थानीय तह र प्रवासीसँग पहल थालेको गाउँ कार्यपालिकास्थित सामाजिक विकास समितिका संयोजकसमेत रहनुभएका वडाध्यक्ष ओमप्रकाश फगामीले बताए ।

छोराछोरीलाई पढाउनकै लागि ग्रामीण क्षेत्रका अभिभावक शहरी क्षेत्रमा बसाइँसराइ गर्ने क्रम न्यूनीकरणका लागि गाउँपालिकाको पहलमा सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट यस वर्ष कक्षा एक र पूर्वप्राथमिक तह शुरु गरिएको र आगामी वर्ष अन्य कक्षामा समेत विस्तार गर्दै लाने गाउँपालिकाको सोच छ ।

दुर्गम ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयमा अंग्रेजी, विज्ञान र गणित विषयको शिक्षक नपाउने समस्याले पठनपाठन प्रभावित बनेपछि टेलिटिचिङ शिक्षण विधि लागू गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताए ।

इन्टरनेटको प्रयोग गरेर एउटा विद्यालयको कक्षा कोठामा शिक्षकले पढाएको पाठ अन्य विद्यालयका विद्यार्थीले पनि देख्न, सुन्न र साक्षात्कार गर्न पाउने व्यवस्था मिलाउन लागिएको छ । पहिलो चरणमा दश माध्यमिक विद्यालयमा टेलिटिचिङ शिक्षण विधि अपनाउने प्रविधिका उपकरण जडानको काम भइरहेको छ ।